गाडी बोक्ने मध्येका एक मात्रै जिवित मान्छेको कथा (भिडियो रिपोर्ट)

गाडी बोक्ने मध्येका एक मात्रै जिवित मान्छेको कथा (भिडियो रिपोर्ट)


(रामजी बलामी)

हाल काठमाडौंमा दैनिक १० लाख भन्दा बढी सवारीसाधन गुड्छन् । जसले गर्दा यहाँको ट्राफिक व्यवस्थापन निकै अस्तब्यस्त बनेको छ । तर, देशको केन्द्रिय राजधानी काठमाडौंमा कुनै बेला शासकहरुले मात्रै सवारीसाधन चढ्दथे । राणा शासकहरुका लागि आवश्यक सवारीसाधन मकवानपुरको भिमफेदीदेखि बोकेर काठमाडौंको थानकोटसम्म ल्याईन्थ्यो ।

शासकहरुका लागि गाडी बोकेर काँध खियाउने भरीयाहरुमध्ये अहिले एक जना मात्रै जिवित छन् । नेपाली इतिहासमा एउटा कालखण्डको प्रतिनिधित्व गर्ने एक्लो जिवित पात्र हुन् मकवानपुरको थाहानगरपालिका ५ तसर निवासी हिराबहादुर घलान (८७) । सोही गाउँका जुक्त बहादुर वाइबाको गत माघ २८ गते निधन भएपछि अहिले घलान एक जना मात्रै बाँकी छन् । वाइबाको निधनसँगै घलान यो गाउँकै सबैभन्दा ज्येष्ठ नागरिक समेत बनेका छन् ।

घलानले मात्रै होईन उनका बुबाले पनि गाडी बोक्थे । आफ्नो बुबाले गाडी बोकेको थाहा पाएर आफू गाडी बोक्ने जाँगर पलाएको घलान बताउँछन् । “हाम्रा बा पनि गाडी बोक्नुहुदो रहेछ त्यसैले म पनि बोक्ने भनेर सल्लाह गरेर गएको हुँ ।” उनले भने ।

एउटा सिंगो इतिहासका साक्षी घलानको जन्म मकवानपुरको दुर्गम गाउँमा भएको हो । काठमाडौंबाट फर्पिङ, कुलेखानी हुँदै करिव ३ घण्टा (मोटरसाइकल)को यात्रापछि घलानको गाउँ तसर (पुरण्डी) पुग्न सकिन्छ । सवारीसाधन रोकेर करिव ५ मिनेटको उकालो पैदल यात्रापछि घलानको घर आईपुग्छ । हामी पुग्दा घलान आँगनमा सुतेर घाम तापिरहेका थिए ।

“बाजे नमस्कार ।” मेरो आवाज सुन्नासाथ घलान जुर्मुराउँदै उठेर नमस्कार फर्काए ।

गाडी बोक्नुभन्दा पहिले गाडी चढेँ

“सबैभन्दा पहिले कहिले गाडी बोक्नु भयो ?” मेरो प्रश्न सुन्नासाथ घलानले आफ्नो अतितका दिनहरु सम्झे । “म सानैमा मोटर चढेर वीरगञ्ज गएको हुँ, त्यहाँबाट फर्केर गाउँ आएपछि मात्रै मोटर बोक्न थालेको ।” उनले आफ्नो विगत स्मरण गरे । त्यसबेला अहिले जस्तो सवारीसाधनको ब्राण्ड थाहा थिएन त्यसो त उनीहरु साना मोटर र ठूला मोटर भन्ने गर्दथे । पहिलो पटक उनी कामको सिलसिलामा १३ बर्षमा बीरगञ्ज पुगेका रहेछन् । त्यसैबेला उनी दिल्ली, बम्बईदेखि कलकत्तासम्म पुगेर पाखुरा खियाएको सम्झन्छन् । मोटर बोक्नु अगावै मोटर चढ्न पाएकाले उनलाई मोटर बोक्दा खासै नौलो लागेन ।

गाडी बोक्दाका पलहरु

घलानले वि.सं. २००६ सालदेखि गाडी बोक्न थालेका हुन् । उनले आफू १८ बर्ष हुँदादेखि त्रिभुवन राजपथ नबनेसम्म साना ठूला गरी २५ वटा गाडी बोके । अहिले हेटौडा, कुलेखानी हुँदै काठमाडौ पुग्न करिव ३ घण्टा लाग्छ त्यतिबेला गाडी बोकेर ल्याउँदा कति समय लाग्ला ? “हलुका गाडी १२ दिन मा पनि पुर्याउन सकिन्छ, गह्रौ गाडीलाई भने २५ दिनसम्म पनि लाग्छ ।” घलानले भने । सानो गाडीलाई थोरै र ठूलो गाडीलाई धेरै समय लाग्ने होला भन्ने मेरो कल्पनाविपरित घलानले भने, “कति हलुका र कति गह्रौ भन्नेमा भर पर्छ ।”

घलानले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्न पाए भने ६४ जनाले बोक्ने गाडी १० खेप जत्ति बोक्न पाए । बाँकी साना गाडीहरु भने ३२ जनाले बोकेको उनी सम्झन्छन् । एउटा सिंगो गाडीलाई कसरी बोक्ने त ? सबैभन्दा पहिले गाडीको चक्का र बम्परहरु निकालिन्छ । त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठूल्ठूला पोल जस्ता नोलहरु राखिन्छ । त्यसमा साना नोलहरु राखेर बाबियोको डोरीले कसिन्छ । नोल र गाडी एक ढिक्का हुने गरी बाँडेपछि अगाडि र पछाडि बराबर संख्यामा भरियाहरु बस्छन् । अनि एकसाथ बल गरेर होस्टे हैंसे गर्दै बोकिन्छ ।

गाडी बोक्ने काम भरियाहरुको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो । उनीहरुले नै भरिया छनौट गर्नेदेखि अन्य व्यवस्थापनका कामहरु गर्ने गर्दथे । हलुका गाडी पर्याे भने उनीहरुले एकैदिनमा कुलेखानीसम्म पनि ल्याई पु¥याउँछन् । गाडी बोक्न भिमफेदी, सानो फाखेल, ठूलो फाखेल, तोक्मार, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ देखिका स्थानीय भरिया जाने गर्दथे । घलानको गाउँबाट मात्रै ४८ जना गाडी भरिया रहेको घलानले बताए ।

गाडी बोकेर चन्द्रागिरी चढ्ने मान्छेहरुले के खान्छन् त ? “के खानु जाँड, रक्सी, मासु, ढिँडो, रोटी यस्तै यस्तै ।” घलानले भने । त्यसबेला ५ पैसाको मासु र ४ पैसाको फापरको रोटीले अघाउञ्जेल खान पुग्ने घलान स्मरण गर्छन् । कतियपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे । यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिडो बनाएर खाने गरेको घलानको अनुभव छ । गाडी मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरु घरमै बास बस्न आउथे अरु दिन भने उनीहरुको बास गाडी रोकिएकै ठाउँका स्थानीय होटल र घरहरुमा हुन्थ्यो ।

भिमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरी हुँदै थानकोट पुर्याइन्थ्यो । पहिले जहाँबाट गाडी बोकेर भित्र्याइन्थ्यो अहिलेका पुस्ता त्यहीँ पुगेर केवलकार चढ्छन् (चन्द्रागिरी) । त्यसैले गाडी बोक्न निकै गाह्रो हुन्थ्यो होला नि ? संक्षिप्त जवाफ दिन रुचाउने घलानले भने “गाह्रोसँगै रमाइलो पनि हुन्थ्यो । ”।

त्यतिबेला अहिले जस्तो जुत्ता थिएन । के यसो भए खाली खुट्टै गाडी बोक्थे त ? होईन, उनीहरु परालको जुत्ता लगाउँथे । गाउँभरीमा परालको जुत्ता बनाउने जिम्मा पनि घलानकै हुन्थ्यो । त्यसो त हरेकले घरबाट परालको मूठो बोकेर जान्थे । गाडी बोकेर उकालो ओरालो गर्दा परालको जुत्ता कति दिन टिक्ला ? “बल्लतल्ल एक दिन टिक्छ ।” घलान भन्छन् ।

यसरी काँध खिइनेगरी गाडी बोकेवापत उनले ९ रुपैंया पाउथे । त्यो पैसाले के गर्थे त उनले ? “के गर्नु खाने कुरा किन्ने” घलानले संक्षिप्त जवाफ दिए । उनीहरुलाई काममा लगाउने र पैसा दिने मान्छे भने कुलेखानीतिरका नाइकेहरु थिए ।

शुरुमा कसरी आयो त गाडी ?

काँधमा गाडी बोक्नेहरु मध्ये घलान दोश्रो पुस्ताका भरिया हुन् । काठमाडौमा गाडी लैजाने कुरा कसरी शुरु भयो त ? यस बारेमा घलानले आफूले भनेको/सुनेको कुरा भन्दै एउटा कहानी सुनाए । “मैले भनेको/सुनेको कुरा है ।” शुरुमै सचेत हुँदै उनले आफूले सुनेको कुराहरु बताउन थाले । त्यसबखत काठमाडौंको नेवार समुदायका कुल बहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीका काम गर्दथे । पछि उनी गाडी चालक पनि भए ।

उनै कुल बहादुरले दरवारमा गई काठमाडौमा गाडी भित्र्याउन पाए शासकहरुलाई सुविधा हुने कुरा सुनाए । उनको कुरा सुनेर चकित भएका शासकहरुले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए । उनले नै अमलेखगञ्जदेखि भिमफेदीसम्म गाडी चलाएर ल्याउँथे । भिमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे । गाडी थानकोट आईपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरवारसम्म पुर्याउथे ।

१५ बर्षमा बिबाह, १४ सन्तती

घलानको बिबाह १५ बर्षको उमेरमा गाउँकै ठूलीमाया घलानसँग भयो । हिरा बहादुर भन्दा १७ दिनले जेठी छिन ठूलीमाया । बिबाहको प्रसँग निस्कनासाथ यी दम्पत्तीको चाउरिएको चेहरामा एकाएक चमक छायो । हिरा बहादुरसँग जीवनको अतितहरु खोतलिरहँदा ठूलीमाया सँगै बसेर हाँसीरहेकी थिइन् । दम रोगले पीडित ठूलीमायाको आँखा र कान कमजोर छ । तर, उनी हरेक प्रश्नमा हाँस्न रुचाउछिन् । दुबै जना गाउँकै भएकाले उनीहरुबीच दिनहुँजसो भेटघाट हुन्थ्यो ।

यसैक्रममा उनीहरुले एकअर्कालाई मन पराए र मागी बिबाह गरे । बैबाहिक जीवन कथा सुनाउदै उनले भने, “बुढाको बुढी, बुढीको बुढा सँगै बस्ने त हो नि ।” हिराबहादुरको कुरा सकिन नपाउँदै ठूलीमायाले थपिन्, “एक बार मर्नैपर्छ, निधारमा के लेखेको छ, मेट्न सक्दैन ।” अहिले उनीहरुका २ छोरा र ३ छोरीसहित १४ जना सन्तती छन् । घलान दम्पत्ती लेखपढ गर्न जान्दैनन् तर उनले छोराहरुलाई भने पढाएका छन् । उनले बज्रबाराहीका भक्त बहादुर बलामीलाई ४ रुपैंया दिएर छोरालाई पढ्न लगाएको बताए ।

जीवनको युवावस्थामा गाडी बोके पनि पछि उनी गाडी चढेर तातोपानीदेखि भारतको दिल्लीसम्म पुगे । “म नपुगेको कहाँ होला र ?” उनले भने । कुराकानीको सुरुवातमा निकै निराश देखिएका घलानको मुहारमा हाँसो छायो । विगतमा गीति गाउँन र नाच्न निकै खप्पिस उनी अहिले भने सबैकुरा बिर्सिन थालेको बताउँछन् । ८७ बर्ष संघर्षमा होमिएका घलानलाई मान्छेको जीवन के जस्तो लाग्दो रहेछ त ? “धर्म कर्म गर्ने, पाप नगर्ने, झगडा नगर्ने ।” घलानले संक्षिप्त जवाफमै जीवनको सम्पूर्ण परिभाषा दिए । ‘मर्छु की’ भनेर चिन्तित घलानले आफ्नो सन्ततीका लागि भने बाँच्न चाहेको बताए ।

घलान दम्पत्तीको दैनिकी अचेल आँगनमै बित्छ । घलानलाई यही हुनुपर्छ, यस्तै गर्नुपर्छ भन्ने केही लाग्दैन अचेल । सरकारले दिएको बृद्धभत्ताले निकै राहत पुगेको उनी बताउँछन् । “भत्ताले धेरै राम्रो गरेको छ, बढाईदियो भने भलो होस्, जय होस, मान बढोस्, झन ठूलो होस् भनेर आर्शिवाद दिन्छु ।” उनले बृद्धभत्ता बढाईदिन यसरी आफ्नो आशय व्यक्त गरे । पछिल्लो केही सातायता उनलाई भेट्न जाने मान्छेहरु पनि बढेका रहेछन् । नयाँ नयाँ मान्छेहरु आफूलाई खोज्दै आएको देख्दा अचम्मित छन् घलान ।

विगतमा जे जस्ता दुःख कष्ट गरे पनि अहिले नयाँ मान्छेहरु भेट्न आउँदा घलानलाई ठूलै काम गरे जस्तो लाग्छ । त्यसो त छुट्टिने बेला उनले आग्रह गरे, “ल बाबु मेरो कुरा सबैतिर पुर्याईदिनु है ।” हामीले पनि “हस” भन्दै वाचा गर्यौ ।

नेपाली इतिहासका साक्षी हिराबहादुरको आग्रह पूरा गर्ने जिम्मेवारी आम पाठकवर्गलाई हस्तान्तरण गरेको छु ।

भिडियो रिपोर्ट 

यो पनि 

मकवानपुरदेखि काठमाडौंसम्म गाडी बोक्दाका क्षणहरु (भिडियो अन्तर्वार्ता)

Logo