१४ माघ २०७८ शुक्रबार

0 Shares

आर्थिक सहायताका नाममा दलका पहुँचवालालाई सरकारद्वारा ७ करोड वितरण !

काठमाडौं

सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भए पछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

ओलीले दोस्रोपटक सरकारको नेतृत्व २०७४ फागुन ३ मा सम्हालेका थिए । अर्थ मन्त्रालयको तथ्यांक अनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ ।

पाँच महिनामा कुल ६ करोड ८४ लाख ३ हजार १ सय ७७ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायताका नाममा वितरण भएको छ । सरकारले पछिल्लोपटक असारमा फरार अभियुक्त वृजकिशोर गिरीको औषधि उपचार गर्दा लागेको खर्च बापत सम्बन्धित निकायलाई २ लाख ८८ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । यस्तै असार ३ गते मन्त्रिपरिषद निर्णय अनुसार काठमाडौंको सेल्टर आश्रमलाई आर्थिक सहायता उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयका नाममा २० लाख ५८ हजार ३ सय १६ रुपैयाँ निकासा गरेको छ ।

गत असार २० गते मन्त्रिपरिषद बैठकले एकै दिन विभिन्न व्यक्तिलाई ६९ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १० लाख, झापाका भम्पा राईलाई १० लाख, झापाकै अमिषा बस्नेतलाई २० लाख, पाँचथरका लक्ष्मीप्रसाद सुहाङलाई ३ लाख, झापाका देवीप्रसाद बराललाई ३ लाख, ताप्लेजुङका ताराहाङ लिम्बुलाई ३ लाख, पूर्वसांसद डिलबहादुर नेपालीलाई ५ लाख, स्व. हरिशरण लामिछानेको नजिकका हकदारलाई १० लाख र धरानका जुगल सुब्बालाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयका नाममा रकम निकासा भइसकेको छ ।

सरकारको नेतृत्वमा जुनसुकै दल पुगे पनि आर्थिक सहायताका नाममा ठूलो रकम दलका नेता तथा कार्यकर्तालाई बाँडिदै आएको छ । यसअघिको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटभन्दा बढी रकम आर्थिक वर्षको पहिलो ६ महिनामा नै वितरण गरेर सकेको थियो । आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याइएको भए पनि देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामा साढे ३२ करोड रुपैयाँ खर्च गरेको थियो ।
नागरिकबाट

प्रकाशित: ९ साउन २०७५ ०७:४५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी