तरकारी बिक्री हुन छाडेपछि किसानहरु मारमा (भिडियोमा)

तरकारी बिक्री हुन छाडेपछि किसानहरु मारमा (भिडियोमा)


बिक्री नै हुन छाडेपछि चितवनमा किसानहरुले खेतमै तरकारी नष्ट गरेका छन् ।

पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन् । उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् ।

तरकारीमा पनि बिशेष गरि बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानहरुले गुनासो गरेका छन् । सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरेका छन् ।

एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको बरु बारीमै कुहिने अवस्था आउन लागेकोले जोत्न परेको स्थानिय किसान नवराज भूषालले बताए ।

अघिल्लो बर्ष त्यहि जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार आम्दानी भएको तर यस बर्ष एक रुपैयाँ पनि आम्दानी नभएको भूषालले बताए ।

तिन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार लागत लागेको उनको भनाई छ । सोहि स्थानकी नरबदा सापकोटाको दुखेसो पनि उस्तै छ । ३२ कठ्ठामा तरकारी खेती गर्दै आएकी सापकोटाले केहि दिनअघि मात्रै ब्रो काउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारी सहित जोताइन् ।

केहि तरकारी त काटेर गाईभैसीलाई समेत खुवाएको तर पशुचौपायलाई समेत चिसो होला भनेर खुवाउन छोडेको उनले बताइन् । अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केहि दिनमै जोताउन पर्ने स्थिति रहेको उनले बताईन् ।

प्रतिकठ्ठा २ हजार ५ सयको दरले भाडा तिर्ने गरि लिएको २२ कठ्ठा जग्गामा लगाइएको तरकारी बिक्री नभएर बारीमै जोत्नु पर्ने अवस्था आएको भन्दै सापकोटाले दुखेसो गरिन् । खैरहनी १ बहेराकै इन्दिरा भूषालले पनि सोमबार ६ कठ्ठामा लगाएको बन्दा जोताइन् । अघिल्लो बर्ष डेढ लाख आम्दानी गरेकी उनले यसबर्ष एक रुपैयाँको समेत बन्दा बिक्री नगरी जोताउन परेको बताइन् ।

उनको जस्तै समस्या अहिले बन्दा लगाउने धेरै किसानको रहेको छ । सोहि स्थानकी देपकला खनालले ७ कठ्ठामा लगाएको बन्दा नष्ट गर्ने तयारीमा रहेकी छिन् । अघिल्लो बर्ष ४ कठ्ठामा लगाएको तरकारीबाट १ लाख आम्दानी भएको थियो राम्रो होला भनेर यसबर्ष ६ कठ्ठामा लगाँउदा एक रुपैयाँ पनि आम्दानी नगरि तरकारी जोत्नुपर्ने अवस्था आएको उनले बताइन् ।

सोहि स्थानका सूर्य प्रसाद भूषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताए । भाउ पाउला कि भनेर कुर्दा कुर्दा तरकारी बिक्री भएन, अर्को वाली लगाउने समय समेत आएकोले बाध्य भएर तरकारीसहित बारी जोताएको उनले बताए ।

किसानहरुले मूल्य नपाँउदा खेतबारी मै तरकारी नष्ट गर्नुपर्ने अवस्था आउदाँ समेत बजारमा भने उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँमा बन्दा खरिद गरिरहेका छन् ।

अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष थिर प्रसाद धितालले बताए ।

अहिले थोक बजारमा बन्दा चार –पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उनले बताए । सबैले एउटै तरकारी लगाउनु भन्दा किसानहरुले फरक फरक तरकारी लगाए यस्तो समस्या नआउने र सबै तरकारीले मूल्य पाउने उनले दावी गरे ।

चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेतीहुँदै आएको छ ।

Logo