काठमाडौँ
ठूलो सुख्खा पहिरो खसेर बाग्मती नदी शनिबार राति देखि थुनिएको छ । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती थुनिएको हो ।
दक्षिणकाली नगरपालिका–२ फर्पिङमा कृषि फार्म सञ्चालन गर्दै आएका अमृत वलीका अनुसार चन्द्र शमशेरले बनाएको पावर हाउस नजिकै पहाडै खसेर बाग्मती थुनिएको हो ।
बल्खु भन्दा करिब ९ किलोमिटर दक्षिणमा रहेको उक्त स्थानमा पहाड खसेर थुनिएपछि बाग्मतीले तालको रुप लिँदै गएको छ । वलीका अनुसार छम्ती र बुङ्मतीतर्फबाट साँझ ६ बजेर ४५ मिनेटमा बाग्मतीको बहाव ठप्प पार्ने गरी पहिरो खसेको हो ।
बाग्मती थुनिएपछि अहिले उक्त स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ । ‘अहिले पनि पहिरो खस्ने क्रम जारी छ’, वलीले भने, ‘राति १० बजे सुरक्षाकर्मीको टोलीले डोजर लगाएर पहिरोबाट पानीको सानो निकास निकालेका छन्, तर बाग्मतीले तालको रुप लिइरहेको छ ।’
वलीका अनुसार बाग्मतीको पानी जमेर किनारको धानबाली डुबाएको छ भने पानीको बहाव नखोलिए चन्द्र शमशेरले बनाएको पावर हाउस भन्दा तलको खेतीबाली र कृषि फार्म डुब्ने अवस्थामा पुगेको छ ।
अन्नपूर्णबाट
प्रकाशित: २४ भदौ २०७५ ०६:१३ आइतबार