रुपमतीका हत्याराहरुको बयान, ‘मुख थुनेर पालैपालो बलात्कार गरि हत्या गर्‍यौं’

रुपमतीका हत्याराहरुको बयान, ‘मुख थुनेर पालैपालो बलात्कार गरि हत्या गर्‍यौं’


विराटनगर । विराटनगरकी १० वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । गत माघ १२ गते रातिदेखि हराएकी बालिकाको भोलिपल्ट विराटनगरको सिंघिया खोलामा निर्वस्त्र शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर ८ बलुवाही बस्ने वर्ष १९ का चन्दु महतो र सोही स्थान बस्ने वर्ष २५ का अब्बास अन्सारीलाई सार्वजनिक गरेको हो । उनीहरु दुवैजनाले बलात्कारपछि हत्या गरेको कवुल गरेका छन् ।

घटना हुनुअघि राति ८ बजेतिर अन्सारी र महतोबीच पीडितको घर नजिकै भेट भएको थियो । दुवैजनाले रुपमतीलाई घरबाट उठाई लगेर नजिकैको चौरमा पालैपालो बलात्कारपछि हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । उनले भने, ‘‘दुबैले सल्लाह गरेर बालिकालाई उठाई लगी नजिकैको चौरमा मुख थुनी पालैपालो जबरजस्ती करणी गरेपश्चात् घाँटी थिची हत्या गरेर मृत शरीरलाई सिंघिया खोलामा फालेका रहेछन् ।’’

मृतकको सबै कपडा खोला किनारमा लुकाएको अवस्थामा फेला परेको थियो । घटना भएको भोलिपल्ट माघ १३ गते बिहान साढे ६ बजेतिर अभियुक्त मध्येका अब्बास अन्सारीले शव अड्किएको ठाउँबाट पुनः खोलामा धकेलेका थिए । प्रहरीलाई दिएको बयान अनुसार बलात्कारपछि हत्या गरेर सिंघिया खोलामा फालेको र दोस्रो दिन विहान अन्सारी शव खोला किनारमा अड्किएको देखेपछि पुनः खोलामा धकेलाका थिए ।

बालिकाको शव हजुरआमाले पानीमा फेला पारेकी थिईन् । बालिकाका बुबाले छोरी हराएको भन्दै खोजतलास गरीपाउँ भनी जिल्ला मोरङमा निवेदन दिन लाग्दा छोरीको शेव फेला परेको जानकारी आएको थियो । शव खोज्ने क्रममा प्रहरी टोली घटनास्थलमा पुग्दा मृतकको घरभन्दा अन्दाजी ६ सय मिटर तल सिंघिया खोला किनारमा मृतकको शव फेला परेको थियो ।

मृतकको मुखबाट रगत बगेको, घाँटीमा कालो निल डाम देखिएको र यौनाङ्ग वरिपरि रगत जमेको देखिएको एसपी केसीको भनाई छ । केसीले भने, ‘‘घटनाको गाम्भीर्यता मनन गरी थप अनुसन्धान तथा अभियुक्त पक्राउ गर्न छुट्टै प्रहरी टोली बनाई परिचालन गरेका थियौं ।’’

शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तथा संकलित नमुना परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं तथा औषधी व्यवस्था विभागमा समेतमा पठाइएको एसपी केसीको भनाई छ । अभियुक्तलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै स्थानीयले शनिवार विरोध प्रदर्शन गरेका थिए ।

विराटनगरमा पनि निर्मला काण्डकै स्वरुप, कसले गर्‍यो रुपमतीको बलात्कारपछि हत्या ?

 

Logo