‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित


काठमाडौं । संघीय संसदको कानून, न्याय तथा मावन अधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले संविधान अनुकूल कानुन बनाउन बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको हो । संविधान अनुकूल कानुन बनाउन तयार पारिएको विधेयक परिमार्जनसहित पारित गरिएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगलगायत अन्य आयोगसम्बन्धि ऐनमा विद्यमान संविधान प्रतिकूलका प्रावधानहरु संशोधन गर्ने उल्लेख गरिएको छ ।

शिक्षा ऐन, विदेशी विनियम ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत प्राधिकरण ऐनलगायतका ऐनहरुलाई संघीयता अनुकूल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ । विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले संविधानसँग बाँझिएका सबै कानुन तत्काल निर्माण गर्न सरकारसँग माग गरेका थिए ।

समितिकी अर्का सदस्य बिमला विश्वकर्माले सबै प्रकारको जातीय विभेद अन्त्य गर्ने संविधानको मूल मर्म अनुसार कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराईन् । उनले संविधान अनुकूलका कानुन निर्माणको काममा सचेत रहन पनि सरकारलाई आग्रह गरिन् ।

बैठकमा समितिका सदस्यहरुले संविधान अनुकूल हुनेगरी सबै कानुन संशोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

Logo