ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा ६.५ रेक्टरको भूकम्प

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा ६.५ रेक्टरको भूकम्प


ग्वाटेमाला सिटी

ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ ।

मेक्सिको र ग्वाटेमालाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर आएकाले सो भूकम्पको महशुस दुबै देशमा गरिएको अधिकारीहरुले बताएका छन् । सिउडाड हिडाल्गोदेखि ३७ किलोमिटर दक्षिणपश्चिमतर्फ गएको भूकम्प ६२ किलोमिटर गहिरो रहेको मेक्सिकोको राष्ट्रिय भूगर्भ सेवाले जनाएको छ ।

ग्वाटेमालाका तीन ओटा राजमार्ग अवरुद्ध भएका छन् । त्यसैगरी अरु कम्तीमा तीन जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पको झड्का एल सल्भाडोर र मेक्सिको सिटीसम्म पनि महशुस गरिएको थियो । मेक्सिकोको राजधानी मेक्सिको सिटीदेखि भूकम्पको केन्द्रविन्दु झण्डै १२ किलोमिटर टाढा पर्दछ ।

भूकम्प प्रभावित हजारौं मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो भने आमनागरिकमा त्रास फैलिएको अधिकारीहरुले बताएका छन् । मेक्सिकोमा यसअघि सन् २०१७ को सेप्टेम्बरमा गएको भूकम्पका कारण ४६५ जनाको मृत्यु भएको थियो भने दशौँ हजार घरहरु भत्किएका थिए ।
रासस / एएफपी

Logo