अब समायोजन फाराम नभर्ने कर्मचारी सरकारले खटाएको ठाउँमा जानु पर्ने

अब समायोजन फाराम नभर्ने कर्मचारी सरकारले खटाएको ठाउँमा जानु पर्ने


काठमाडौँ
समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले आवश्यकता अनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरूले रोजे अनुसार खटाउने र फारम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सो अवधिमा ती कर्मचारीले फाराम नभरेका हुन् ।

फाराम नभर्ने कर्मचारीलाई पनि ज्येष्ठता, नागरिकतामा उल्लिखित ठेगाना वा हाल बसोबास गरिरहेको ठेगानाका आधारमा समायोजन गरिनेछ । उनीहरूलाई स्थानीय र प्रदेशमा खटाउने पनि प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो । सरकारले यसअघि विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरिसकेको छ ।

कुल ७७ हजार ३४ जना कर्मचारीले समायोजन जान फाराम भरेकोमा त्यसमध्ये ३५ हजार ३ सय ६४ जानले संघमै समायोेजन हुन रोजेका हुन् । २७ हजार ४ सय ६१ जनाले स्थानीय तह र १४ हजार २ सय ६९ जना प्रदेशमा जान चाहेका छन् ।

मन्त्रालयका अनुसार हाल हाल ९० हजार १ सय १६ जनाको दरबन्दी छ । ती मध्ये न्याय, परराष्ट्र र महालेखाका करिब ४ हजार कर्मचारी समायोजनमा सहभागी हुनु पर्दैन ।
नेपाल समाचारपत्रबाट

Logo