किन रुन्छ बच्चा ? यस्तो छ कारण

किन रुन्छ बच्चा ? यस्तो छ कारण


वास्तवमा बच्चा रुनु भनेको केही व्यक्त गर्नु हो । बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझनु आवश्यक हुन्छ । उसले रोएर आफ्नो आमासँग सम्पर्क गर्ने एक माध्यम बनाएको हो । बच्चाले केहि बोल्न नसक्ने हुँदा उनको मनको कुरा बुझ्न गाह्रो हुन्छ ।

धेरै जसो बच्चा भोक लाग्दा रुने गर्छ । त्यसकारण आफ्नो बच्चा कतिखेर र किन रुन्छ भनेर आमाले बुझ्नु आवश्यक हुन्छ । तर कहिलेकाही हामी आफ्नो बच्चा किन रुन्छ भनेर बुझ्न सक्दैनौ । आखिर कतिखेर र किन रुन्छ त बच्चा ?

भोक लाग्दाः
भोक लाग्दा भर्खरै जन्मेको बच्चा धेरै रुन्छ । बच्चाको पेट सानो हुन्छ । त्यसकारण एकैपटक धेरै दुध खान सक्दैन् । दिनमा पटक पटक दुध खुवाईरहनुपर्छ । कम्तीमा ८–१० पटकसम्म दुध खुवाउनुपर्छ । बच्चालाई दुध नपुगेर पनि रुन सक्छ ।

दिशापिसाव गरेरः
दिशा पिसाव गरेर कपडा भिज्दा बच्चाले असहज महसुस गर्छ । त्यसकारण बच्चा रुन्छ । धेरैबेर सम्म बच्चालाई भिजेको कपडामा राख्दा खटिरा आउन सक्छ । बच्चालाई समय समयमा दिशापिसाव गरे नगरेको हेरिराख्नुपर्छ । भिजेको कपडा तुरुन्त फेर्नुपर्छ नत्र बच्चालाई चिसो लाग्ने खतरा पनि बढ्छ ।

काखमा आउनको लागिः
नवजात शिशुलाई आमाको स्पर्श राम्रो लाग्छ । बच्चालाई आमाको काखमा बसिराख्न मन लाग्छ । कहिलेकाहि बच्चा आमाको काखमा आउनको लागि पनि रुन्छ ।

गर्मी वा जाडो भएमाः
बच्चाको छाला धेरै संवेदनशिल हुन्छ । कोठाको तापक्रम चिसो भएमा छिट्टै चिसो भएको महसुस गर्छ र गर्मी भएमा छिट्टै गर्मी महसुस गर्छ । बच्चालाई धेरै चिसो वा धेरै तातो भएमा असर गरिहाल्छ । त्यसकारण कोठाको तापक्रम सामान्य राख्ने कोसिस गर्नुहोस् वा कोठाको तापक्रम अनुसार बच्चालाई कपडा लगाइदनुहोस् ।

पेटमा ग्याँस जमेरः
३ हप्ता देखि ३ महिनासम्मको बच्चालाई ग्याँसको समस्या धेरै हुन्छ र यो समयमा पनि बच्चा धेरै रुन्छ । कहिलेकाही बच्चालाई एलर्जी वा शरिरमा चिलाएर र किराहरुले टोकेर पनि रुन्छ ।

निन्द्रा पुरा नभएरः
बच्चाको निन्द्रा पुरा नहुँदा पनि बच्चा रुन्छ । त्यसैले बच्चालाई शान्त वातावरणमा सुताउने कोसिस गर्नुपर्छ ।

थकान हुँदाः
कहिलेकाही बच्चा थाकेको हुन्छन् । जसकारण उनीहरुलाई निन्द्रा लाग्दैन र रुन्छन् ।

बिरामी हुँदाः
यदि बच्चा अचानक धेरै रुन्छ र अचानक रुन छाड्छ भने यसको मतलव बच्चा स्वस्थ छैन भन्ने बुझ्नुपर्छ । बच्चा स्वस्थ नभएको शंका लागेमा तुरुन्त चिकित्सककोमा लानुपर्छ ।

ध्यान आकर्षित गर्नको लागिः
कहिलेकाही बच्चा आमाको ध्यान आफुतिर तान्नको लागि पनि रुन्छ । त्यसकारण जब बच्चा रुन्छ उसलाई काखमा बोकेर एकछिन खेलाउने । बच्चाको महसुस गराउनुहोस कि तपाई उसको साथमा हुनुहुन्छ ।

Logo