नेवाः ताम्सालिङ नाम नराखे आन्दोलनको चेतावनी : प्रदेश नं.३

नेवाः ताम्सालिङ नाम नराखे आन्दोलनको चेतावनी : प्रदेश नं.३


मकवानपुर

प्रदेश ३ का आदिवासी जनजाति अगुवाहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्न सरकारसँग माग गरेको छ । प्रदेश राजधानी हेटौंडामा शुक्रबार र्‍यालीपछि आयोजित नागरिक दबाब सभालाई सम्बोधन गर्दै जनजाति नेताहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ नराखे निरन्तर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक नरेश ताम्राकारले प्रदेशको नाम पहिचानका आधारमा नराखिए गरिने सशक्त संघर्ष दुःखद हुने बताए । ‘संघीयता, गणतन्त्र ल्याउन आदिवासी जनजातिले महत्वपूर्ण भूमिका खेलेका छन्,’ नेवाः देय् दबुःका अध्यक्षसमेत रहेका उनले भने, ‘तर पनि प्रदेशको नाम पहिचानका आधारमा राख्न राजनीतिक दलहरूले चासो नदिएकोमा हाम्रो आपत्ति छ ।’

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले प्रदेशको नाम नेवाः ताम्सालिङ नहुन्जेल आन्दोलन जारी राखिने बताए । ‘प्रधानमन्त्री ओली राजा महेन्द्रको बाटो गलत भन्थे, हामीले आन्दोलनमा साथ दियौं,’ उनले प्रश्न गरे, ‘त्यही ओली राजावादी अवतार किन लिन खोज्दै छन् ?’ देशमा ३७ प्रतिशत जनसंख्या आदिवासी जनजाति भए पनि शासन सत्ता जातीय, नश्लीय भएको भन्दै त्यो भत्काउन आदिवासी जनजाति लागिपरेको दाबी गरे । ‘हामीले पहिचान मागेर रगत बगाएका हौं, कुनै खोला, मन्दिर र भूगोलले पहिचान माग्दैनन्,’ उनले भने ।
नागरिकबाट

Logo