दाम्लोले बाँधेको गाई चोरी, काटेर खाएको आरोपमा १ जना पक्राउ

दाम्लोले बाँधेको गाई चोरी, काटेर खाएको आरोपमा १ जना पक्राउ


ललितपुर । दाम्लो काटेर एउटा गाई चोरी भएको छ । ललितपुर महानगरपालिकाको हरिसिद्धि स्थित माया अधिकारीको गोठमा बाँधेको गाई दाम्लो काटेर चोरी भएको हो । चोरी भएको गाई काटेर खाएको पाईएको छ । गाई चोरी काटेर खाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

तीनवर्षदेखि हरिसिद्धिमा गाई पाल्दै आएकी धादिङकी माया अधिकारीको तीन वटा गाई मध्ये एउटा गाई पुस १० गते हराएको थियो । पुनः मंगलबार राती बाँधिएको ठाउँबाट अर्को गाई हराएपछि उनी प्रहरीकहाँ पुगेकी थिईन् ।

दाम्लो काटेर गाई चोरी भएको उजुरी दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा एकजना पक्राउ परेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । घटनामा संलग्न अन्यको पहिचान भइसकेको र उनीहरुको खोजीकार्य भईरहेको सातदोबाटो वृत्तका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

वडा नम्बर २३ बाट हराएको गाई वडा नम्बर २८ को हरिसिद्धिस्थित होसना इँटा भट्टाको माटो निकाल्ने ठाउँमा पुरिएको अवस्थामा भेटिएको थियो । मासु निकालिसकेको र बाँकी रहेका टाउको, पुच्छर, छाला, हड्डी, खुट्टा लगायत पुरेको अवस्थामा भेटिएको प्रमुख मिश्रको भनाई छ ।

गाई पुरेको भेटिएपछि इँटाभट्टा रहेका सबैका टहरामा प्रहरीले छापा मारेको थियो । एकजनाको टहरामा मासु भेटिएको हो । मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद २७ को उपदफा २ मा कुनै गाई वा गोरु मारेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ।

 

Skip This
Logo