जनअपेक्षा अनुसार काम भएनः गगन थापा

जनअपेक्षा अनुसार काम भएनः गगन थापा


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । उनले भने, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।”

नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । “न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसर काम गर्न पाएको छ”, उनले भने ।

नेता थापाले नियम अनुसार संसद्मा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए ।

प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो भन्ने प्रश्न गरे । नेपाली काङ्ग्रेसका वडा सभापति योगराज दाहालले केन्द्रमा विभिन्न नेताको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको बताए ।

Logo