कोटेश्वरको जाम हटाउन वैकल्पिक सडक निर्माण गरिने

कोटेश्वरको जाम हटाउन वैकल्पिक सडक निर्माण गरिने


काठमाडौं

काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारीसाधनका लागि वैकल्पिक सडक निर्माण गरिने भएको छ । कोटेश्वर चोकमा ट्राफिक जाम घटाउन यो विकल्प तयार गरिएको हो । कोटेश्वरमा सवारीसाधनको अधिक चापका कारण जाम हुने भएकाले त्यहाँ प्रवेश गर्ने सवारीको संख्या कटौती गरेर जाम घटाउने योजना छ ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलाको करिडोरमा सवारीसाधन सञ्चालन गरेर कोटेश्वरको जाम न्यूनीकरण गर्न लागेको बताए । उनले भने, ‘सवारीसाधनको अधिक चाप भएर कोटेश्वर चोकमा जाम बढेको हो । कोटेश्वर भएर गुड्ने सवारीको संख्या कटौती गरिए जाम हट्नेछ ।’

काठमाडौं महानगरपालिकका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुवँरको संयोजकत्वमा गठन गरिएको समितिले कोटेश्वरको जाम हटाउने विषयमा अध्ययन गरिरहेको छ । समितिमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग, महानरगर प्रहरी लगायत प्रतिनिधि छन् । यही समितिको अध्ययन प्रतिवेदनका आधारमा रत्नपार्कमा पिक एन्ड ड्रप (चढाउने र ओराल्ने) लागू गरिएको थियो ।

पिक एन्ड ड्रपले रत्नपार्कमा सवारी जाम हटाउन सहयोगी भूमिका निर्वाह गरिरहेको संयोजक कुवँरको दाबी छ । ‘कोटेश्वर चोकको जाम हटाउन हामीले प्रारम्भिक अध्ययन गरिरहेका छौं’, कुवँरले भने, ‘मनोहरा करिडोरको प्रयोग र कोटेश्वर चोकको अव्यवस्थित बस पार्कलाई अन्यत्र सार्नु पर्ने देखिएको छ ।’ संयोजक कुवँरका अनुसार भक्तपुरबाट कोटेश्वर प्रवेश गर्ने सवारीलाई मनोहराको करिडोर हुँदै बालकुमार पुलबाट चक्रपथमा प्रवेश गराइनेछ । ‘त्यसका लागि अहिले सडक विभागले जडीबुटी पुलभन्दा करिब तीन सय मिटर दक्षिणतर्फ पुल निर्माण गर्न टेन्डर आह्वान गरेको छ ।
अन्नपूर्णबाट

Logo