पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो : पोखरामा गोप्य बैठक र भेटघाट

पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो : पोखरामा गोप्य बैठक र भेटघाट


काठमाडौँ

पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ ।

पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आउनुभएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको थियो ।

गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो । त्यस लगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठ लगायत एक दर्जनभन्दा वढी राप्रपाका नेतासँग भेट गर्नुभएको थियो ।

भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पुस २ गते पोखरा पुग्नुभएका ज्ञानेन्द्रले हिजो आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना स्थानीय नेतासँग सामूहिक भेट गर्नुभएको थियो । भेटमा सबैले देशमा राजतन्त्र र हिन्दू राज्य ल्याउन आन्दोलन गर्नुपर्ने विकल्प नभएको सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई दिएका थिए । आफ्ना परिवारका लागि भन्दै करिब २४ वटा कोठा बुक गर्नुभएका पूर्वराजाले होटलमै सबैसँग भेटघाट गर्दै आउनुभएको छ ।

पछिल्लो समय देशको राजनीतिबारे बढी चासो राख्न थाल्नुभएका ज्ञानेन्द्रले हिन्दू धर्म स्थापित गराएर राजतन्त्र ल्याउने प्रयास गरिरहनु भएको छ । कमल थापासँगको भेटमा नेपाली कांग्रेसको सहयोग लिएर हिन्दू धर्मको पक्षमा कार्यक्रम अघि बढाउन आग्रह गर्नुभएका पूर्वराजाले त्यसका लागि भित्रीरूपमा आफ्नो समेत साथ र सहयोग रहने बताउनुभएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo