इन्धनका नाममा दोहोरो सुविधा लिएको भन्नेलाई मन्त्रीहरुको प्रहार

इन्धनका नाममा दोहोरो सुविधा लिएको भन्नेलाई मन्त्रीहरुको प्रहार


काठमाडौं । सरकारका मन्त्रीहरुले आफुहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् ।

इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिईने सुविधा अनुसार सरकारको नियमभित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमलाई आग्रह गरे ।

धुमबराहीमा विहिबार बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदैं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आफुले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे । उनले मन्त्रीका बारे अनर्गल प्रचारवाजीमा नलाग्न संचारजगतलाई आग्रह गरे ।

बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे । त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफुले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौति दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शुन्य सहनशिलताको कुरा गर्ने र उनकै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएर राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।

Logo