पुस लागेसँगै मधेसमा अचाक्ली जाडो : जनजीवन प्रभावित

पुस लागेसँगै मधेसमा अचाक्ली जाडो : जनजीवन प्रभावित


काठमाडौं

पुस सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ । बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन । शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन् । तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ ।

गरिबको सिरकडसना भनेकै पराल । कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उही पराल । प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ । शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ । दैनिक काम गरी खाने मजदुर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन् । शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरिब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका इन्दल माझी भन्छन्, ‘चिसो बढेपछि खानलाउन र बालबालिकालाई जोगाएर राख्ने चिन्ता बढेको छ ।’ ५५ घर मुसहर रहेको पटेर्वामा सय जनाभन्दा बढी बालबालिका छन् । चिसो छल्न न्यानो कपडासमेत नहुँदा आफूहरूलाई निकै गाह्रो भएको उनले बताए । यही बस्तीकी ६० वर्षीया पोषणीदेवी माझीले चिसो बढेपछि आफू जस्ता वृद्धवृद्धाको जीवन कष्टकर बनेको गुनासो गरिन् । ‘घरमा आगो बाल्ने काठदाउरा छैन’, उनले भनिन्, ‘साहुमहाजनकहाँ पराल भुस ल्याउन गयो, दिँदैनन्।’

प्रदेश २ को राजधानी जनकपुरको पनि अवस्था चिन्ताजनक छ । ‘रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्यांग्रिदो चिसोले ज्यानै जाने डर,’ जनकपुरधाम–१ का ठेला चलाउने विनोद सदाले भने । ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको उनले बताए । ‘कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु’, उनले भने, ‘हाम्रो पीडा सरकारसमक्ष पु¥याइदिनुस् ।’
अन्नपूर्णबाट

Logo