अब शिक्षकले राजनीति गरे जागिर चट

अब शिक्षकले राजनीति गरे जागिर चट


काठमाडौँ

सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको छ । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउदै आएपनि त्यो विषय कार्यान्वन हुन सकेको थिएन ।

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति पदाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । उक्त विषय सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

दलीय राजनीतीकरणले विद्यालय शिक्षाको गुणस्तरमा गम्भीर नकारात्मक असर पारेको अवस्था देखिएपछि आयोगले शिक्षकलाई राजनीतिमा नलाग्ने गरी प्रतिबन्ध लगाउन लागेको हो ।

आयोगका सदस्य सचिव एवं शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले प्रतिवेदन सार्वजनिक भएपछि मात्रै यो विषयमा जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयभित्र कुनै पनि शिक्षकले राजनीति गर्न पाउँदैनन् तर यस्लाई कडाइका साथ कार्यान्वयन गर्न कानुन ल्याउनैपर्ने विषयमा छलफल भइरहेको छ ।’
नेपाल समाचारपत्रबाट

Logo