काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धमा झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
महाशाखाले पाथीभरा अनलाइन डटकमका सम्पादक स्याङ्जा हरिनाथ–५ का हरिप्रसाद मानन्धरलाई राजधानीबाट नियन्त्रणमा लिएको हो । उनी माथि विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भ्रमपूर्ण झुठा समाचार सम्प्रेषण नगर्न तथा नराउन समेत सबैमा अनुरोध गरेको छ ।
यसैविच संक्रमणपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पतालमा नै रहने भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार रहे पनि आरामकै लागि भएपनि उनी अझै केही दिन अस्पतालमा नै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका हुन् ।
चिकित्सकहरुले अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही दिन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री जान नहुने समेत बताएका छन् । छातिमा संक्रमण र सुगरको मात्रा असन्तुलनपछि सोमबार बिहान प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओलीको उपचार प्रा.डा. अरुण सायमीको संयोजकत्वमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह तथा डा. सन्त कुमार दास सम्मिलित समूहले गरिररहेको छ । प्रधानमन्त्री ओलीसँग भेटघाटमा रोक लगाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको जनाए । उनका अनुसार संक्रमण सर्ने खतरा भएकाले भेटघाटमा रोक लगाइएको हो ।
राजधानीबाट
प्रतिक्रिया