रामवीरलाई राजीनामा गराउनबाट नेकपा पछि हट्ने सम्भावना
  • राजीनामा पत्रसमेत लेखेका रामवीर मानन्धरले संवाद चौतारीमा ‘राजीनामा घोषणा’ मात्रै गरेर निस्किए । "/>

    वामदेव गौतमको संसद प्रवेश: काठमाडौं– ७ मा जोडघटाउ गर्दै नेकपा

    वामदेव गौतमको संसद प्रवेश: काठमाडौं– ७ मा जोडघटाउ गर्दै नेकपा


    • रामवीरलाई राजीनामा गराउनबाट नेकपा पछि हट्ने सम्भावना
    • राजीनामा पत्रसमेत लेखेका रामवीर मानन्धरले संवाद चौतारीमा ‘राजीनामा घोषणा’ मात्रै गरेर निस्किए ।

    काठमाडौं– डोल्पा, बाँके, दैलेख, रुकुमलगायतका जिल्लाका निर्वाचित सांसदहरुले राजीनामा दिन अस्वीकार गरेपछि काठमाडौं प्रवेश गरेका नेकपा सचिवालय सदस्य वामदेव गौतमको संसद यात्रामा बाधा हुने देखिएको छ ।

    काठमाडौं–७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेपनि त्यसविरुद्ध आएका प्रतिक्रियाबाट नेकपा पछि हट्ने संकेत देखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै ‘सिट गुम्ने गरी उप–निर्वाचन नहुने’ प्रष्ट पारिसकेका छन् । ‘तपाईंहरु ढुक्क हुनुस् सिट गुम्ने गरी उप–निर्वाचन हुँदैन,’ उनले भने, ‘पार्टीले निर्णय गरिसकेको छैन ।’

    काठमाडौं–७ का निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर बर्दियाबाट पराजित नेता गौतमलाई उठाउने निर्णयमा पार्टीका वरिष्ठ नेताहरु नै खुला विरोधमा उत्रिएपछि नेकपा संकटमा परेको छ । अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक प्रतिक्रिया नआए पनि नेकपा नेताहरु ईश्वर पोखरेल, भीम रावललगायतका नेताहरु विरोधमा उत्रिएका छन् ।

    पोखरेलले गौतमलाई काठमाडौंबाट चुनाव लडाउने निर्णय न्यूनतम नैतिक मूल्य मान्यता र जनादेशविपरित हुने भन्दै साथ दिन नसकिने धारणा राखेका थिए । ‘यो निर्णय सर्वथा गलत हो,’ उनले दोहोर्‍याएर भने, ‘५ वर्षका लागि जनताले दिएको मतादेशको अपमान हो ।’

    नेकपा नेता भीम रावलले वामदेवलाई उम्मेदवार बनाउने निर्णय पार्टीको कार्यकारी निकायमा छलफलसमेत नभएको भन्दै गम्भीरता देखाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘रामवीरलाई राजीनामा दिन किन लगाइँदैछ,’ रावलको प्रश्न थियो, ‘यस्तो कुरा स्थायी कमिटीमा छलफल हुनुपर्छ कि पर्दैन ?’ उप–निर्वाचनबाट आउने नतिजाको अध्ययनसमेत नगरी विषयहरु बाहिर ल्याएको भन्दै उनले असन्तुष्टि जनाए ।

    शीर्ष नेताहरुको नै असन्तुष्टि र स्थानीय नेताहरु प्रदेशसभा सदस्यहरु वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेर ‘ब्याक’ हुन आग्रह गरिसकेका छन् । ‘अब जोडघटाउको अवस्थामा पुगेका छौं,’ नेकपा महासचिव विष्णु पौडेल निकट स्रोत भन्छ, ‘सम्भवतः अब वामदेव उम्मेदवार हुने विषय थाति रहन सक्छ ।’

    पौडेल तिनै व्यक्ति हुन्, जसले वामदेवलाई जुनसुकै हालतमा उप–निर्वाचनबाट विजयी बनाउन चाहन्थे । उनी र अध्यक्ष दाहालकै जोडबलमा धेरै क्षेत्र खालीको प्रयास भएको थियो ।

    गएको चुनावको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका न्हुच्छेकाजीले त नेवार समूदायको बाक्लो वस्ती रहेको काठमाडौं– ७ मा वामदेवलाई चुनाव जिताउन कठीन हुनेसमेत बताएका थिए । ‘हामीलाई वामदेव कमरेडलाई चुनाव जिताएर पठाउन निकै महंगो पर्छ,’ उनले ओली र दाहाललाई समान ब्रिफिङ गरेका थिए, ‘मतदाता एग्रेसिभ छन् ।’

    मानन्धरका अनुसार काठमाडौं– ७ मा वामदेवलाई जिताउन तीन कुराले सहज छैन । ‘बाहिरका उम्मेदवार हुनु पहिलो असहजता हो, अर्को चाँही जातीयताले प्रभाव पार्छ,’ उनले संकेत गरेका थिए, ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको कामले पनि मतदाता सन्तुष्ट छैनन् ।’

    वामदेवलाई प्रतिनिधिसभा सदस्य बनाउन एकोहोरोरुपमा दाहाल र पार्टी महासचिव विष्णु पौडेलले लामो समयदेखि प्रयत्न गरेका थिए । दाहाल र पौडेलसँग राजीनामा दिने भनेर निस्किएका सांसद रामवीर मानन्धरले संवाद चौतारीमा चलाख्याइपूर्वक ‘राजीनामा घोषणा’मात्रै गरे । मानन्धरले अहिलेसम्म संसद सचिवालयमार्फत सभामुखलाई राजीनामा पत्र बुझाएका छन् ।

    रामवीर पनि संकटमा
    गौतमका लागि ठाउँ खाली गर्ने भन्दै राजीनामा घोषणा गरेका निर्वाचित सांसद रामवीर मानन्धर आफैँ संकटमा परेका छन् । राष्ट्रिय सभामा मनोनीत सांसद र मन्त्रीको आश्वासनमा राजीनामा गर्न तयार रहेको सार्वजनिक भएपछि स्थानीय नेताले मानन्धरको आलोचना गरेका छन् ।

    तत्कालिन एमालेमा रहँदा फरक गुटमा रहेका वसन्त मानन्धरलगायतका नेताहरुले पद र शक्तिका लागि जनताको जनादेश बेच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । दुई पटक वडाध्यक्ष जितेका र सांसद उम्मेदवार भएपछिका दुवै चुनाव जितेका मानन्धरले जनताको विश्वास गुमाउने काम गरेको आरोप लागेको छ ।

     

     

    Logo