काठमाडौँ

संसद्को दुईतिहाइ मतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ८ महिनामा पूरा भयो । "/>

८ महिनामा ९ पटक इन्धनको मूल्यवृद्धि , तैपनि निगम घाटामै !

८ महिनामा ९ पटक इन्धनको मूल्यवृद्धि , तैपनि निगम घाटामै !


काठमाडौँ

संसद्को दुईतिहाइ मतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ८ महिनामा पूरा भयो । यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य १० पटक समायोजन भएको छ । यसमध्ये ९ पटक आयल निगमले मूल्य बढाएको छ ।

१० पटकको समायोजनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकपटक मात्रै घटेको छ भने ९ पटक बढेको छ । खाना पकाउने ग्यासको मूल्य ९ पटक स्थिर रह्यो भने एकपटक बढेको छ । आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य पनि एकपटक बढेको छ ।

२० फागुन ०७४ मा प्रतिलिटर १०३ रुपैयाँ रहेको पेट्रोलको मूल्य ११ रुपैयाँ बढेर अहिले ११४ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँबाट १०१ रुपैयाँ पुगेको छ । यी दुवैमा प्रतिलिटर १६ रुपैयाँ वृद्धि भएको हो ।

१३७५ रुपैयाँ प्रतिसिलिन्डर पाइने गरेको ग्यासको मूल्य १ असोजदेखि बढेर १४०० पुगेको छ । आन्तरिक हवाई इन्धन १९ जेठ देखि प्रतिलिटर ५ रुपैयाँ बढेर सय रुपैयाँ कायम छ । बाह्य हवाई इन्धन पनि सोही मितिबाट प्रतिकिलोलिटर ७५ डलरका दरले बढेर एक हजार ७५ डलर पुगेको छ ।

डलर वृद्धि भएका कारणले मात्रै पेट्रोलियम पदार्थको मूल्य महँगो भएको होइन, अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढ्दा नेपालमा असर देखिएको हो । पछिल्लो १५–२० दिनमा ८ प्रतिशतले कच्चा तेलको भाउ बढेको छ । १ सेप्टेम्बर ( १६ भदौ ) मा ७७ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले बढेर ८४ डलर प्रतिव्यारेल पुगेको छ ।

डलरसँगको विनिमयदर एक रुपैयाँले वृद्धि हुँदा निगमलाई एक महिनामा १६ करोड नोक्सान हुन्छ । त्यसैगरी प्रतिव्यारेल एक डलर कच्चा तेलको भाउ बढ्यो भने निगमलाई प्रतिमहिना १७ करोड भार पर्छ ।
नयाँ पत्रिकाबाट

Logo