काठमाडौँ

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता ( तत्कालीन एमालेका उपाध्यक्ष ) वामदेव गौतम उपनिर्वाचन मार्फत संसदमा जान लागिपरेका छन् । "/>

पराजित वामदेवको सांसद बन्न मरिहत्ते किन ?

पराजित वामदेवको सांसद बन्न मरिहत्ते किन ?


काठमाडौँ

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता ( तत्कालीन एमालेका उपाध्यक्ष ) वामदेव गौतम उपनिर्वाचन मार्फत संसदमा जान लागिपरेका छन् । ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए । तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरै हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन् । उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बनेका थिए । गौतमले यसअघि ०५६ र ०६४ मा पनि निर्वाचनमा हार व्योहोरेका थिए ।

निर्वाचन हारे यता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन् । तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए ।

त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया २ मा सांसद बन्ने प्रयास गरेका थिए । सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो । त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो ।

गौतम निर्वाचनमा पराजित भएपछि दैलेखका सांसद रविन्द्रराज शर्माले ठट्टा गदै आफूले ठाउँ छाड्दिने भनेका थिए । वामदेवले भने उक्त कुरालाई साच्चिकै भनेर शर्माको ठाउँमा आफू सांसद बन्ने प्रस्ताव पार्टीमा ल्याएका थिए । पछि शर्माले ठट्टा मात्र गरेको भनेपछि वामदेवको सांसद बन्ने चाहनामा धक्का लाग्यो ।

दैलेखमा पनि धोका खाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्री समेत रहेका धनबहादुर बूढालाई राजीनामा गराएर सांसद उठ्ने तयारी गरेका थिए । बूढा सुरुमा गौतमलाई सांसद पद छाड्न तयार भए पनि उनी मतदाताको विचार बुझ्न जिल्ला जाँदा पार्टी जिल्ला समितिले पार्टी केन्द्रको सहमतिबिना राजीनामा नदिन लिखितरूपमा सचेत गरायो । पार्टीको निर्णयविपरीत राजीनामा गरेमा निर्वाचनमा नसघाउने र पछि समेत सहयोग नगर्ने पार्टी जिल्ला र मतदाताको चेतावनीपछि धनबहादुरले पनि राजीनामा दिन अस्वीकार गरेका छन् ।

धनबहादुर २०७० सालमा कमल थापा नेतृत्वको राप्रपाबाट एमालेमा प्रवेश गरेका थिए। उनलाई राजीनामा गराएर सांसद बन्नकै लागि गौतमको पहलमा उनले राज्यमन्त्रीको पद पाएका थिए । बुढालाई दुई वर्षपछि राष्ट्रियसभाबाट सांसद बनाएर विभागीय मन्त्री बनाउने आश्वासन समेत दिएको स्रोत बताउँछ ।

वामदेवले आफू सांसद बन्नका लागि नवलपुर २ का सांसद तिलक महतसमक्ष पनि अप्रत्यक्षरूपमा प्रस्ताव गरेका थिए । गौतमले ललितपुर १ का सांसद नवराज सिलवालाई पनि राजीनामा दिन दबाब दिएको स्रोत बताउँछ । अन्तिममा गौतमले बाँके ३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिएका थिए। तर रोकायले भने पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने बताइसकेका छन् । हाल गौतमको नजर बैतडी–१ मा पुगेको छ । कांग्रेससँग ११ हजार मतान्तरमा विजयी भएका बैतडीका सांसद दामोदर भण्डारीलाई राजीनामा गराएर सांसद बन्न गौतमले पहल गरिरहेको स्रोत बताउँछ ।

नेकपाका केन्द्रीय तहका एक नेताका अनुसार गौतमले आफू निर्वाचनमा पराजित भएपछि झलनाथ खनाललाई राष्ट्रपति बनाएर इलामबाट आफू निर्वाचन लड्न खोजेका थिए । त्यसका लागि खनाललाई राष्ट्रपति बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर खनालले बामदेवलाई इलामबाट चुनाव जितेर आउन मुस्किल भएको बताएपछि वामदेवले खनाललाई राष्ट्रपतिमा सिफारिस गर्दा मौन बसेको आरोप लाग्ने गरेको छ ।
नागरिकबाट

Logo