काठमाडौं
- पार्टी अध्यक्षले अरिङ्गाल बन्न निर्देशन दिएपछिको परिवेशमा नेकपाका कार्यकर्ताले अब केही समय ‘उठ जाग हे भोका नाङ्गा….’ भन्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको सट्टा ‘जस्ट चिल चिल….’ गाउनुपर्ने देखियो ।
– खगेन्द्र पन्त (पत्रकार) - आकाश नियाल्दै एक अरिङ्गाल
– अशेष घिमिरे (अखिल पूर्व नेता) - ‘अरिङ्गाल’ को लिंक पाउँ न, मह काड्नु पर्यो !
– मनोज गजुरेल (कलाकार)
पत्रकार पन्त, घिमिरे र गजुरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिन्छन् । तीनैजनाले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अरिङ्गाल’ उर्दीको विरोध गरेका छन् ।
दुई दिनअघि नेकपा नेता पोस्टबहादुर बोगटीको स्मृतिमा भएको कार्यक्रममा ओलीले पार्टी कार्यकर्ता विपक्षीसँग आक्रामक नभएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ? त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’
ओलीको आह्वानप्रति तल्लो तहका कार्यकर्तामात्र होइन, पार्टीका उच्च तहका नेताहरु नै असन्तुष्ट भएका छन् । गएको जेठमा भएको पार्टी एकतापछि सबै तल्ला कमिटी नेतृत्वविहीन छन् । प्रवास कमिटीदेखि भ्रातृ र सम्पर्क कमिटीसमेत छैनन् ।
एक त पार्टी एकीकरणमा बीचबाट टिपेर विष्णु पौडेललाई महासचिव बनाएदेखि नै तत्कालिन एमालेको एउटा पंक्ति असन्तुष्ट छ । अर्कोतिर माओवादी केन्द्रबाट आएकाहरुले अपनत्व महसुस गरेका छैनन् । सरकारमा सहभागी हुने मन्त्री, तिनका स्वकीय सचिव र सल्लाहकार बाहेकले सरकारको बचाउ गर्दैनन्, उल्टै खिसिट्युरी गरेर बसिरहेका छन् ।
मन्त्रीमण्डल निर्माण हुँदा वाहवाही पाएका प्रधानमन्त्रीले मन्त्रीहरुले काम गर्न छाडेपछि उल्टै विरोध खेपिरहेका छन् । एकातिर मन्त्रीहरु विवादमा पर्दै जानु र अर्कोतिर सुरक्षालगायतका कतिपय विषयमा चुक्दै गएपछि सरकारप्रति वितृष्णा छ ।
प्रदेश, जिल्ला, स्थानीयदेखि भ्रातृ संगठन, सम्पर्क र प्रवास कमिटीको नेतृत्व विवाद मिलेको छैन । नेतृत्वमा सहमति नभएकै कारण पटक–पटक मापदण्ड फेरिन थालेका छन् । एमालेभित्रको माधव नेपाल समूह र माओवादीभित्रका झुण्डहरुबीचको तानातान पनि थामिनसक्नु छ ।
‘पार्टी नेतृत्वमा सामूहिक भावना हराएको छ,’ नेकपा स्थायी कमिटी सदस्य घनश्याम भूसालले भने, ‘सामूहिकता नहुनु भनेको एउटा समूहमा नैराश्यता देखिनु हो । अहिले नेकपाभित्र ठ्याक्कै यही समस्या छ ।’
अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल सामूहिक भावनामा नचलेकै कारण विग्रहहरु देखिन थालेको भूसालको टिप्पणी छ । सारा शक्ति दुई अध्यक्षमा मात्रै भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएका थिए । भलै राजीनामा फिर्ता भए पनि उनको असन्तोष कायमै छ ।
मन्त्री नै बचाउँमा छैनन्
अरु त अरु, सरकारका मन्त्रीहरुसमेत सरकारको बचाउ नगर्नु भनेको हास्यास्पद छ । किन त ? एक मन्त्रीले बेलिबिस्तार लगाए, ‘सरकारले के निर्णय गर्दैछ हामीलाई थाहा हुँदैन । प्रधानमन्त्रीका एकजना सल्लाहकारले रिपोर्ट कार्ड बनाएको भनेपछि यति ह्यारास भएको छ, ठाउँ छैन । फलाना फलाना मन्त्री बिदा हुँदैछन् भनेपछि कर्मचारीले टेर्न छाडिसके ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रीहरुको रिपोर्ट कार्ड बनिरहेको बताउँदै कुन मन्त्री कुन अवस्थाको खतरामा छ भन्नेसम्मको सार्वजनिक गरेपछि मन्त्रीहरु नै प्रधानमन्त्री र उनको सचिवालयप्रति क्रुद्ध छन् ।
मन्त्री पनि उस्तै
ओली सरकारका मन्त्रीहरुका गतिविधिले पनि कार्यकर्ताहरु निराश छन् । मन्त्रीहरुका काम र अभिव्यक्तिलाई ढाकछोप गर्न लायकका छैनन् । सुन काण्ड छानबिन र सिन्डिकेट अन्त्यमा बधाई पाएका गृहमन्त्री रामबहादुर थापापछि विवादित हुँदै गए । चिकित्सकलाई अस्पतालबाटै उठाएर गृह मन्त्रालयमा ल्याएकोदेखि निर्मला पन्तका हत्यारालाई कारबाही गर्न उदाशिनता देखाएको आरोप उनीमाथि छ ।
ओली सरकारका अधिकांश मन्त्री विवादमा छन् । सबै मन्त्री कुनै न कुनै विवादमा छन् । राम्रो भनिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि लालबाबु पण्डित, युवराज खतिवडा, रविन्द्र अधिकारीसम्म विवादमा फसेका छन् । सामान्य संवैधानिक व्यवस्थासमेत वास्ता नगरी भारतमा निलकण्ठ उप्रेतीलाई राजदूत नियुक्त गर्नेदेखि जहाज प्रकरणसम्ममा मन्त्रीहरु मुछिएका छन् ।
आफ्ना दुई ‘हनुमान’ भनेर चिनिएका गोकुल बास्कोटा र भानुभक्त ढकालका कृयाकलाप ओली सरकारको टाउको दुखाइको विषय भएको छ । ढकाल भर्खर मन्त्री भएकाले उनको रिजल्ट आएको छैन, तर बास्कोटा सुरुदेखि नै विवादमा छन् । दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको जिम्मा लगाएर बास्कोटाले फसाउने काम गरेका छन् ।
प्रतिक्रिया