अमरत्वको सम्झना, यो कृति शिवगोपाल रिसालको कृति हो र यसलाई विनयकुमार शर्मा नेपालले सम्पादन गर्नु भएको छ । यसमा संस्मरणात्मक निबन्ध र जीवनी समीक्षा केन्द्रित कृतिहरू समेटिएका छन् । "/>

समिक्षा: एउटै ग्रन्थमा धेरै व्यक्तित्वहरूको जीवनी

समिक्षा: एउटै ग्रन्थमा धेरै व्यक्तित्वहरूको जीवनी


अमरत्वको सम्झना, यो कृति शिवगोपाल रिसालको कृति हो र यसलाई विनयकुमार शर्मा नेपालले सम्पादन गर्नु भएको छ । यसमा संस्मरणात्मक निबन्ध र जीवनी समीक्षा केन्द्रित कृतिहरू समेटिएका छन् । प्रा. शिवगोपाल रिसाल (जन्मस्थान: सैंवु, भैंसेपाटी, ललितपुर , जन्ममिति: १९९४ चैत्र शक्ल चतुर्थी) हो ।

प्राध्यापक शिवगोपाल रिसालले नेपाली वाङ्मयको सेवामा पाँच दशकभन्दा बढी समय बिताइसक्नु भएको छ । उहाँका धर्म, दर्शन, साहित्य र संस्कृतिका करिब चार दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । वेदान्त–दर्शनमा पारङ्गत उहाँका कृतिहरूमा नैतिकता, सदाचारका साथमा वैचारिक चिन्तन गहन रूपमा रहेको पाइन्छन् । आफ्नो सानिध्यमा रहेर मृत्युवरण गरेका व्यक्तित्वहरूको बारेमा सम्झना स्वरूप लेखिएका ५५ समालोचकीय संस्मरणहरू यहाँ समावेश गरिएका छन् । यी रचना वा समीक्षा वा संस्मरणलाई मैले जीवनीपरक समीक्षाका रूपमा चिनाउन चाहेँ ।

गुरुले देशकै ख्यातिप्राप्त विद्वान् साहित्यकार, दार्शनिक, विचारक, राजनेता, व्यापारी आदि आदिसँगको सहकार्य, सहभोक्ता, सत्सङ्गत र सानिध्यमा बिताएका क्षण र तिनका स्मरणयोग्य विचार र कार्यहरूलाई आफ्नो विषयवस्तु बनाउनु भएको छ । पुराना सामाग्रीहरूको सङ्कलनबाट निर्माण भएको पुस्तक भए पनि यी समीक्षा र संस्मरणहरू नेपाली साहित्यका अध्यता, सम्बन्धित व्यक्तिका अध्यता र अनुयायीहरूका लागि अमूल्य सामग्री बनेका छन् । यसमा ‘शिवगुरुले दिएका आफ्नोपनको विचार र यसमा समाविष्ट व्यक्तित्वका विचारले हामी सबैलाई बिउँझाउँछ । यहाँ प्रत्यक्षमा पचपन्न मनीषीका साथमा अप्रत्यक्ष रुपमा गुरु शिवगोपाल रिसालको ‘आफ्नो के ?’ भन्ने कुरा केही हदसम्म सर्वविदित हुने थियो पढ्नेलाई । शिवगोपाल गुरु जस्तो विशिष्ट व्यक्तित्वद्वारा अन्य अनेक विशिष्टता बोकेका व्यक्तित्वहरुका विचारका बारेमा लेखिएको यस्तो अमूल्य र महत्वपूर्ण जीवनीपरक समालोचकीय संस्मरणहरु पढ्दा शिरै उठाउन मन लाग्दैन ।

यहाँ विविध क्षेत्रका महानुभावहरू समेटिनु भएको छ । उहाँहरूका जीवन र कर्महरू सुन्दा मात्र पनि हामी लाभान्वित हुन्छौँ । धार्मिक सांस्कृतिक अभियन्ता ः धार्मिक सांस्कृतिक अभियन्ताहरूका जीवनीपरक समीक्षा अधिक रहेका छन् । त्यस्ता प्रतिभाहरूमा बालब्रह्मचारी षडानन्द अधिकारी, खप्तड बाबा, स्वर्गद्वारी महाप्रभु, योगी नरहरीनाथ. डा. स्वामी प्रपन्नाचार्य, खेमराज केशवशरण, डा.रामानन्द गिरी आदिका बारे यो एउटै कृतिमा पढ्न पाइन्छ । यहाँ उहाँहरूका अध्यात्मका कारण गरेका समाज सुधार र सेवाका पक्षहरू पनि आएका छन् । जीवनी र रिसालज्यूसँगका उठबस पनि आएका छन् । उहाँहरूसँग जोडिएका जीवन दर्शन पनि आएका छन् ।

रिसालको यस कृतिमा थुप्रै साहित्यिक प्रतिभाहरूको जीवनी समीक्षा छ । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, बाबुराम आचार्य, जगन्नाथ शर्मा त्रिपाठी, झपटबहादुर राणा, कृष्णप्रसाद पराजुली, राममणि रिसाल, केशवराज पिँडाली, डा. हरिभक्त न्यौपाने, प्रा. रामचन्द्र पौडेल, पं. दधिराम पौडेल, भीमनिधि तिवारी, वासु रिसाल ‘यात्री’, पूर्णप्रसाद ब्राह्मण, पं. गुणराज उपाध्याय, रामेश्वरप्रसाद अज्र्याल, डा. डिल्लीराम तिमसिना, पूर्णप्रकाश नेपाल ‘यात्री’, शिवप्रसाद सत्याल ‘पीठ’, नारायणदत्त आचार्य शास्त्री आदि । उहाँहरूका जीवनी, कतिपय व्यक्तित्व र कृतित्व बाहिर आएको छ ।

यसैगरि समाजलाई अगाडि बढाउन बहुमुखी समाजसेवीहरूको भूमिका पनि त्यत्तिकै रहन्छ । यस एउटै ग्रन्थमा भूपालमान सिंह कार्की, बद्रीविक्रम थापा, सगुन शाह, हरिराम जोशी, खड्गमान मल्ल, डा. विहारीलाल श्रेष्ठ, दीर्घराज कोइराला, वनवारीलाल मित्तल आदि समेटिनु भएको छ । उहाँहरूका जीवन दर्शन रिसालका जीवन दर्शनमा घोलिएर हाम्रा लागि नयाँ ज्ञानको क्षितिज बनिरहेका छन् । भाषाविद् हरिश्चन्द्र न्यौपाने पनि यहाँ विषय बनेर आउनु भएको छ र सञ्चारकर्मी श्रीप्रसाद उपाध्याय र जनार्दन घिमिरे पनि गुरुको कलमको विषय बनेर आउनु भएको छ ।

शिक्षासेवी व्यक्तित्वहरू पनि त्यत्तिकै हुनुहुन्छ । ईश्वरराज अर्याल, गोपाल पाँडे ‘असीम’, आनन्दप्रसाद ढुङ्गाना, निरञ्जन भट्टराई, दामोदर कोइराला लगायत विभिन्न क्षेत्रका इन्दिरा श्रेष्ठ, तीर्थराज आचार्य, पूर्णलक्ष्मी देवी, बडागुरुज्यू अम्बिकाप्रसाद अधिकारी, ज्ञानहरि पण्डित, माधुरी भट्टराई, प्रेमनाथ सत्याल, कृष्णमान श्रेष्ठ, इन्द्रछाया अज्र्याल, शशिधरदास, केही राजनेता र राजाका विषयको जीवनीपरक समीक्षा पनि समेटिएको छ, जस्तै श्री ५ वीरेन्द्र । यहाँ केही स्थान र संस्था परिचयलाई पनि समेटिएको छ । जस्तै, पद्मकन्या कलेज । जहाँ उहाँले लामो समय २०१८ देखि २०५६ सालसम्म वर्ष प्राध्यापन गर्नुभयो ।

यो एउटै ग्रन्थबाट बहुमुखी क्षेत्रका बहुमुखी व्यक्तित्वहरूको जीवनीका बहुविधा पक्ष थाहा पाउन सकिन्छ । गुरूप्रति थप सिर्जनशील जीवन यात्राको प्रार्थना गर्दछु । यस कृतिलाई जीवनीका विद्यार्थीले जीवनीका रूपमा, समाजशास्त्रका विद्यार्थीले सामाजिक जिम्मेवारीको खोजीका रूपमा, धार्मिक क्षेत्रका मानिसहरूले धार्मिक दार्शनिक ग्रन्थका रूपमा लिन सक्ने देखिन्छ । मैले भने जीवनीपरक समीक्षाका रूपमा चर्चा गरेँ । गुरुको थप सिर्जनशील जीवनको प्रार्थना गरेँ । शब्दार्थ प्रकाशनले यस पुस्तकलाई बजारमा ल्याएको छ ।

Skip This
Logo