काठमाडौँ

आज भदौ १ गते देखि १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहिता सहित ५ वटा कानुन एकसाथ लागू हुँदैछन् । "/>

१६५ वर्ष पछि मुलुकी ऐन विस्थापित : आजबाट नयाँ कानुन लागू हुने

१६५ वर्ष पछि मुलुकी ऐन विस्थापित : आजबाट नयाँ कानुन लागू हुने


काठमाडौँ

आज भदौ १ गते देखि १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहिता सहित ५ वटा कानुन एकसाथ लागू हुँदैछन् । मुलुकी अपराध संहिता ०७४, मुलुकी देवानी संहिता ०७४, मुलुकी फौजदारी कार्यविधि संहिता ०७४, फौजदारी कसुर (सजायँ निर्धारण तथा कार्यान्वयन) संहिता ०७४ र मुलुकी देवानी कार्यविधि संहिता ०७४ आज देखि एकसाथ लागू हुँदैछन् ।

व्यवस्थापिका संसद्बाट पारित भई राष्ट्रपतिबाट अघिल्लो वर्ष प्रमाणीकरण भए पनि भदौ १ गते देखि लागू हुने भनिएको थियो । अन्तर्राष्ट्रिय अनुभव, विधिशास्त्रीय मान्यता र सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिरलाई आत्मसात गर्दै एकीकृत संहिताका रूपमा यी कानुन बनेका थिए ।

सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको बृहत मस्यौदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६८ सालमै बुझाइएको थियो । मस्यौदा बनेको सात वर्षपछि आजबाट बल्ल कार्यान्वयनमा आएको हो । संहिता निर्माणका लागि झन्डै एक सय कानुनमा परिवर्तन गर्नुपरेको छ । संहिता बनेसँगै २० वटा कानुन खारेजीमा परेका छन् । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सुरुमा विक्रम संवत् १९१० मा मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारमा मुलुकी ऐन बनाएका थिए ।

संहिताले यातना दिई निर्मम हत्या, विमान अपहरणपछि विस्फोट गरी हत्या, अपहरण वा शरीर बन्धक लिई ज्यान मारेको, पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको, जाति हत्या र बलात्कारपछि हत्या जस्ता अपराधमा बाँचुन्जेल जेल बस्नुपर्ने व्यवस्था गरेको छ । व्यक्ति बेपत्ता पार्ने कार्यलाई नयाँ अपराधमा वर्गीकरण गरिएको छ । अन्य देशमा गरेका अपराधमा पनि नेपाली नागरिकलाई सजाय हुनेछ । अब जानाजान विश्वासघात गर्नेलाई समेत सजायँ हुने भएको छ । अब अपराधपीडितले पहिलो पटक पीडकबाट क्षतिपूर्ति पाउनेछन् । साना प्रकृतिका अपराधमा अपराधीले कैद तथा जरिवानाको सट्टा सामुदायिक सेवामा लगाउन सकिने भनिएको छ । सवारी ज्यानमा चालकलाई हदैसम्मको सजायँ तोकिएको छ । त्यस्ता चालकलाई धरौटीमा मुद्दा लड्न नपाउने व्यवस्था छ ।

यता देवानी संहिताले छोराछोरी दुवैलाई तीन पुस्तासम्म अपुताली हकदाबी गर्न पाउने हक दिएको छ । संहिता अनुसार यस्तो हक पुग्ने कोही नभए त्यस्तो सम्पत्ति राज्यको हुनेछ । सम्बन्ध विच्छेदका लागि महिलासरह पुरुष पनि अदालतमा जान पाउनेछन् । आमाको नाममा पनि थर राख्न पाइनेछ । पती वा पत्नीले एकअर्कालाई बेवास्ता गरी तीन वर्ष सम्म टाढिएमा स्वतः सम्बन्धविच्छेद हुने प्रावधान समेत संहितामा छ ।

Skip This
Logo