काठमाडौँ

बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनु पर्ने भएको छ । "/>

अब जीवित भएको प्रमाण लिन पनि कर : मकै पोल्नेलाई दैनिक ४५ रुपैयाँ र भैँसी बेचे हजार !

अब जीवित भएको प्रमाण लिन पनि कर : मकै पोल्नेलाई दैनिक ४५ रुपैयाँ र भैँसी बेचे हजार !


काठमाडौँ

बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनु पर्ने भएको छ । रुकुम (पूर्व) र (पश्चिम) का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई सय रुपैयाँ कर तोकेको छ । दुवै जिल्लाका सबै स्थानीय तहले यो शीर्षकमा धेरथोर कर तोकेका छन् । ‘हो, कुनै नागरिक बेपत्ता भएको छ र जीवित छु भन्दै फर्किएमा प्रमाणित गर्न गाउँपालिकालाई शुल्क बुझाउनुपर्छ,’ सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन् ।

गरिब भएको प्रमाण लिन पनि कर

सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर तोकेको छ । त्यस्तै विवाह दर्ता गर्न मात्र होइन, विवाहित र अविवाहित पुष्टि गर्न पनि कर तिर्नुपर्ने व्यवस्था यहाँका स्थानीय तहहरूले गरेका छन् । यो शीर्षकमा आठबिसकोट र चौरजहारी नगरपालिकाले एक हजार तथा सिस्ने गाउँपालिकाले दुई सय शुल्क तोकेका छन् ।

मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

मेहेन्दी लगाउनेलाई दैनिक १० रुपैयाँ कर

मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहेन्दी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

नयाँ पत्रिकाबाट

Logo