काठमाडौँ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका दोलखाका बस्ती स्थानान्तरण सुरु गरेको छ । १२ र २९ वैशाख ०७२ मा गएको भूकम्पका कारण जोखिममा परेका बस्तीहरूको गृह मन्त्रालयले सर्वेक्षण गरी अन्तिम प्रतिवेदन उपलब्ध गराएपछि प्राधिकरणले स्थानान्तरण प्रक्रिया सुरु गरेको हो । गृहले दोलखाका २३ बस्तीको सर्वेक्षण गरे पनि भीमेश्वर नगरपालिका–१ स्थित सुस्पा क्षमावतीको बोसिम्पा र बुमा गाउँसहित जिल्लाभरका जम्मा ९५ घर जोखिममा रहेको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ ।
पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख निर्मल दर्शन आचार्यले बस्ती स्थानान्तरण सुरु भइसकेको बताए । उनले सुस्पा क्षमावती गाउँको बोसिम्पा र बुमा बस्तीलाई नजिकैको सरकारी जग्गामा सार्ने प्रक्रिया सुरु भएको बताए । जोखिममा परेका ९५ घरमध्ये सुस्पाको बोसिम्पा र बुमामा मात्रै ८४ घर रहेकाले पहिला ती बस्ती सार्न सुरु गरेको उनको भनाइ छ । जिल्लाका अन्य सार्नैपर्ने जोखिमपूर्ण बस्ती अन्तर्गत मार्बुको माँझगाउँस्थित ३ घर, भीमेश्वर नगरपालिका–३ को घोक्सिला गाउँका ३ घर, गैरीमुदी मगर टोलको १ घर, सुन्द्रावती गैराथोकका ४ घर रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
भीमेश्वर नगरपालिका–१ को सुस्पा क्षमावतीका दुई बस्तीका भूकम्पपीडितका नाममा जग्गा दर्ता प्रक्रिया सुरु भएको छ । बोसिम्पा नजिकैको पानीपोखरीमा रहेको सरकारी जग्गा उनीहरूका नाममा दर्ता गर्न लागिएको हो । भूकम्पलगत्तै सो क्षेत्रका पीडितहरू अस्थायी रूपमा बसोवास गर्दै आएका पानीपोखरीमा उनीहरूले घडेरी पनि रोजिसकेका छन् । प्राधिकरण प्रमुख आचार्यका अनुसार अहिलेसम्म पानीपोखरीको गुरुयोजना र सडक निर्माण भैसकेको र एक महिनाअघि प्राधिकरण केन्द्रीय कार्यकारी समिति बैठकले सो ठाउँको जग्गा पीडितका नाममा दर्ता गर्न अधिकार प्रत्यायोजन गरिसकेको छ ।
नयाँ पत्रिकाबाट
प्रकाशित: १६ पुष २०७५ ०७:०९ सोमबार