आज अंग्रेजीमा के भने प्रचण्डले (भिडियोमा)

आज अंग्रेजीमा के भने प्रचण्डले (भिडियोमा)


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल– भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनु भएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दुई मुलुकबीचमा गरिएको समझदारी कार्यान्वयनको कामले गति लिन थालेको बताउनु भएको हो । उहाँले नेपाल–भारतबीचको सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउने प्रयत्न भईरहेको दावी पनि गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत थिंक टयांक समिट’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको समृद्धि भारतको पनि स्वार्थको विषय भएको स्पष्ट पार्दै समान सार्वभौमसत्ता र समान स्वार्थमा आधारित रहेर आपसी सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले भारतसँगको सहमति अनुसार रेल र जलमार्गमा जोड दिएर आर्थिक समृद्धिको यात्रालाई अघि बढाउने नेपालको योजना पनि अघि सार्नु भयो ।

अध्यक्ष दाहालले दुई मुलुकका प्रधानमन्त्रीबीचको ताजा विश्वासिलो सम्बन्धलाई आधार मानेर दुई मुलुकको बीचको सम्बन्धलाई अझै गाढा बढाउँदै लैजानुपर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पु¥याउन सम्वद्ध सबै पक्षलाई पहल गर्न आग्रह गर्नु भयो । उहाँले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध राम्रो भएको पनि स्मरण गराउनु भयो । मन्त्री यादवले नेपालले भारतसँगको सम्बन्ध स्वाभिमानका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पार्नु भयो ।
नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गर्नु भयो । उहाँले अरुण–३ जल विद्युत आयोजना र वीरगंजमा क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्ने पछिल्ला सम्झदारीले दुई मुलुकबीचको आर्थिक साझेदारी अभिवृद्धि हुँदै जाने विश्वास दिलाएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा दुवै मुलुकका राजनीतिक, बुद्धिजीवि र व्यवसायीबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विविध आयामका विषयमा पनि अन्तरक्रिया गरिएको छ ।

 

Logo