राजेश हमालसँग रमाइलो कुराकानी

राजेश हमालसँग रमाइलो कुराकानी


तीन दशकदेखि अभिनय क्षेत्रमा सक्रिय अभिनेता राजेश हमाल पछिल्लो समय फिल्ममा सुस्त छन् । तैपनि दर्शकमाझ उनको लोकप्रियता खस्केको छैन । उनीसँगको एक अनौपचारिक भेटमा केन्द्रविन्दुले गरेको विल्कुल अनौपचारिक गफगाफ:

तपाईं अभिनेता नभएको भए के बन्नुहुन्थ्यो ?

– खोइ, अब त अभिनयबाहेक अर्को कुरा कल्पना पनि गर्न सक्दिनँ । सायद अभिनेता नभएको भए ट्राभलर हुन्थें होला । पर्यटन सम्बन्धी काम गरिरहेको हुन्थे कि !

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मनपर्छ ?

– जब आफ्नो काम हेरेर दर्शकहरुले आनन्द लिनुहुन्छ र उहाँहरुलाई चलचित्रले केही न केही भावनात्मक हिसाबले असर गर्छ, खुशी लाग्छ ।

मनोरञ्जन क्षेत्रको के कुराले बढी चित्त दुख्छ ?

– एकदम चित्त दुख्ने भन्ने नै हुँदैन । म जीवनलाई स्वभाविक हिसाबले हेर्छु । किनभने जीवनमा प्रशंसा गर्ने पनि हुन्छन्, आलोचना गर्ने पनि हुन्छन् । यो स्वभाविक प्रक्रियो हो ।

तपाईंको अगाडि साँच्चिकै भूत प्रकट भए भने के गर्नुहुन्छ ?

– पहिलो कुरा, म भूत भनेर स्वीकार नै गर्दिन । किनभने म भूतमा विश्वास गर्दिन । यदि भूत हो भन्यो भने म बेस्कन हाँस्दिन्छु होला !

तपाईं कुनैदिन देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के काम गर्नुहुन्छ ?

– हाम्रो देशमा अहिले देखिएको समस्या भनेको बेराजगारी, स्वास्थ्य, शिक्षा, यातायात लगायत क्षेत्रमा हो । सायद यि कुरालाई प्राथमिकतामा राखेर काम गर्थें होला ।

कस्तो कुराले तपाईंलाई खुशी बनाउँछ ?

 मलाई असल व्यक्तिहरु जसले जीवनका सामान्य इच्छा र चाहना पनि पुरा गर्न पाएका हुँदैनन, उनीहरुको त्यो चाहनालाई परिपुर्ति गर्ने वातावरण सिर्जना गराउन पाउँदा मलाई खुशी लाग्छ ।

के देख्दा दुःख लाग्छ ?

– मान्छेले जीवनका आधारभुत कुराको अभावमा जिउनु पर्दाखेरी एकदमै दुःख लाग्छ । विशेषगरी बालबालिकाहरुलाई त्यस्तो अवस्थामा देख्दा दुःख लाग्छ ।

केटीहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?

– राम्रै लाग्छ । तर यो ‘टु वे ट्राफिक’ हो, वान वे होइन । मैले कसैलाई प्रेम गर्ने वित्तिकै उसले गर्नुपर्छ भन्ने पनि हुँदैन, कसैले मलाई प्रेम गर्छ भने मेरो तर्फबाट पनि प्रेम हुन्छ भन्ने पनि हुँदैन । तर प्रेम गर्ने मान्छेलाई ठाडो अस्वीकार गरेर चित्त चाँही दुखाउनु हुँदैन ।

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?

– दर्शकलाई मेरा प्रायः सबै कुरा थाहा नै होलान् । थाहा नभएको मेरो भ्रमण रुची हुन सक्छ । म असाध्यै भ्रमण गर्न रुचाउँछु । बेलाबेलामा म नितान्त एक्लै देशविदेश भ्रमण गरिरहेको हुन्छु ।

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?

– मेरो बुबाको सम्बन्धलाई मैले राम्रोसँग टुंग्याउन सकिनँ । चाहँदाचाहँदै अधुरो भयो । बुबासँग मेरो केही कुरामा चिसोपन पसेको थियो । पछि सुल्झिहाल्छ भन्दाभन्दै उहाँको निधन भयो । र, केही कुरा टुंग्याउन बाँकी नै रह्यो ।

तपाईंको कमजोरी के हो ?

– सशक्त कमजोरी हुँदैनन्, तर ससाना धेरै छन् । तर म आफ्ना कमजोरीहरुलाई औंल्याएर सुधार्ने प्रयास सधैँ गरिरहेकै हुन्छु ।

के कुरालाई तपाईं आफ्नो शक्ति ठान्नुहुन्छ ?

– म भित्रको स्वतन्त्रता नै मेरो शक्ति हो । म कुनै पनि वातावरणबाट छिट्टै प्रभावित हुँदिन । कोही पनि व्यक्तिहरुको राम्रो/नराम्रो पक्षबाट छिट्टै प्रभावित हुँदिन । अरुको ठूलो प्रशंसाबाट पनि धेरै उत्साहित हुँदिन । अरुको आलोचनाले पनि खासै चित्त दुख्दैन ।

बिहे गरेर ‘बिहे कहिले गर्ने’ भन्ने प्रश्नबाट त छुटकारा पाइयो । अब ‘बुबा कहिले बन्ने’ भन्ने प्रश्नबाट कहिले छुटकारा पाउने हो ?

– म जवान छु, मधु जवान छिन् । हामी दुइजना छौं । खेती आफ्नै हो क्यारे । के को हतार ! विस्तारै होला । तर अहिले जे भइरहेको छ हामी दुईजनाको सल्लाह अनुसार नै भइरहेको छ ।

दर्शकले राजेश हमाललाई पर्दामा नदेखेको धेरै भयो । कमब्याक कहिले गर्ने त ?

– फिल्ममा लागेको २७ वर्षपछि मैले फिल्म खेल्न कम गरेको हो । बागमती र शकुन्तला गरेपछि रोकेको हुँ । रोक्नुको कारण भने बागमती र शकुन्तलाबाट सोचेजस्तो सन्तुष्ट नमिलेरै हो । ती दुवै नयाँ शैलीमा बनाइएका फिल्म थिए तर नयाँ शैलीमा बनाएको भन्दैमा सबै राम्रा नहुने रहेछन् । त्यसैले अहिले म अलि निराश भएको हुँ र सतर्कता अपनाइरहेको छु । ‘शकुन्तला’पछि मलाई १२–१५ वटा फिल्म अफर आए तर कतै टिम, कतै स्क्रिप्ट चित्त बुझेन । अब त आफ्नो समय सुहाउँदो भूमिका आयो भने मात्र फिल्म खेल्छु । विगतका भन्दा फरक तरिकाले फिल्म गर्ने मन छ । उमेरमा गरेको कुरा अब इतिहास भइसक्यो । फिल्म गर्नका लागि मात्र त अब गर्दिनँ ।

तीन दशकको अभिनय यात्रामा आफूभित्र भएको अभिनय क्षमतालाई पूर्ण रुपमा दर्शकमाझ देखाइयो भन्ने लाग्छ ?

– लाग्दैन । मैले अझै अभिनय गर्न बाँकी नै छ, गर्न चाहन्छु पनि ।

प्रस्तुति: विक्रान्त शर्मा

Logo