नेपाली महिलाहरूको परिभाषामा अहिले ब्यापक परिवर्तन आउँदै गएको छ । शहरी क्षेत्रका महिलाहरू अहिले हरेक क्षेत्रमा पुरुषहरूसंग प्रतिस्पर्धा गर्न सक्ने भैसकेका छन् । "/>

महिलाहरू स्मार्ट देखिन अनुभवीहरूको सल्लाह

महिलाहरू स्मार्ट देखिन अनुभवीहरूको सल्लाह


नेपाली महिलाहरूको परिभाषामा अहिले ब्यापक परिवर्तन आउँदै गएको छ । शहरी क्षेत्रका महिलाहरू अहिले हरेक क्षेत्रमा पुरुषहरूसंग प्रतिस्पर्धा गर्न सक्ने भैसकेका छन् । तर ग्रामिण क्षेत्रको परिवेशलाई हेर्ने हो भने अधिकांश महिलाहरुको दैनिकी घरायसी कामकाजमै रुमल्लिनु परेको छ ।

ग्रामिण क्षेत्रमा हुर्किएर शहरका विभिन्न क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने महिलाहरूको संख्या पछिल्लो पटक बढ्दै गएको देखिन्छ । शिक्षाले ल्याएको यो परिवर्तनमा धेरै महिलाहरू अहिले उपल्लो दर्जामै पुगिसकेका पनि छन् ।

महिलाहरू स्वयं पनि यो क्षेत्रमा अझैं धेरै महिलाहरूको सहभागिता हुनु पर्छ भन्छन् । उनीहरु आफ्नो सफलताका श्रेय धेरै कुरालाई दिएपनि महिलाहरू सोझि भन्दा पनि स्मार्ट हुनु पर्ने उनीहरुको तर्क रहेको छ ।

हामीले नेपाली समाजमा आ–आफ्नो क्षेत्रमा अनुभवका कारण नाम कमाईसकेका महिलाहरूलाई नेपाली महिलाहरू स्मार्ट हुन के के गर्नुपर्छ भन्ने सामूहिक प्रश्न सोधेर बहसको थालनी गरेका छौं, उनीहरूको तर्क यस्तो रहेको छ ।

स्मार्ट ब्यक्तिको सकारात्मक प्रभाव हुन्छ
शान्ति श्रेष्ठ उदास
निर्देशक, कास्की मोडल हस्पिटल, पोखरा

महिलाहरू स्मार्ट हुदाँ उनीहरू स्वयंलाई पहिला फाइदा हुन्छ भने यसले अरुलाई पनि फाइदा नै पुर्‍याउछ । मैले धेरै पटक गरेको अनुभव अनुसार स्मार्ट देखिने ब्यक्तिको प्रभाव अरुको तुलनामा सधै बढी भैरहेको हुन्छ । स्मार्ट ब्यक्तिले बोलेका कुरा धेरैले ध्यान दिएरै सुन्छन् । उनीहरूको कुरालाई बढी विश्वास गर्छन् र त्यस्ता ब्यक्तिलाई हत्तपत्त जोकोहीले हेप्न पनि सक्दैनन् ।

यदी कुनै महिला स्मार्ट भईन् भने उनमा अरुको तुलनामा बढी आत्मविश्वास रहेको हुन्छ । उनीहरुलाई जस्तोसुकै अप्ठ्यारो काम पनि सक्छु जस्तो लाग्छ । स्मार्ट भएकै कारण त्यस्ता महिलाहरुले अरुको तुलनामा काम गर्न बढी उत्साह पनि देखाईरहेका हुन्छन् ।

स्मार्ट ब्यक्ति महिला होस् वा पुरुष उनीहरुको प्रभाव सामान्य ब्यक्तिहरूको तुलनामा बढी ओजिलो पनि हुन्छ । ओजिलो ब्यक्तिलाई भिडमा पनि सजिलै छुट्याउन सकिन्छ ।

नयाँ लुगा लगाएर मात्र स्मार्ट भईदैन । लुगालाई म्याचिङ हुने गरेर लगाउनु पनि स्मार्ट देखिने एउटा कला हो । यो वाहेक आफुले राख्न चाहेको कुरालाई सधै तर्कसंगत रुपमा प्रस्तुत गर्नु पनि स्मार्ट भइने अर्को कला हो ।

त्यसैले आफुले राख्न लागेको तर्कलाई कलात्मक रुपमा प्रस्तुत गर्नु पनि स्मार्ट देखिने अर्को कला हो । अझ कुनै अफिसहरुमा कार्यरत हुनुहुन्छ भने आफ्नो प्रस्तुतीलाई जति राम्ररी प्रस्तुत गर्नुहुन्छ त्यतिनै प्रस्तुती दिने ब्यक्तिलाई स्मार्ट देखिन्छ ।

परिस्थितीहरू सहि ढंगले समाधान गर्नसक्नु
मिना खड्का केसी
वरिष्ठ सौन्दर्य विज्ञ, अल केयर ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर

नेपाली समाजमा महिलाहरूलाई स्मार्ट हुनै पर्ने आवश्यक्ता देखिएको छ । स्मार्ट भएमा मात्र आफ्नो करिअरलाई तिब्र रुपमा प्रगती गराउन सकिन्छ । त्यसैले महिलाहरूले आफुलाई स्मार्ट बनाउन मैले देखे अनुसार आफुलाई सुहाउँदो हेयर स्टाईल र मेकअप गर्नुपर्छ । अनुहारलाई सुहाउँदो ढंगले मेकअप र हेयरस्टाइल बनाउनु भयो भने महिलालाई स्मार्ट देखाउन मद्धत गर्छ ।

महिलाले आफुलाई स्मार्ट देखाउन समय र मौसम सुहाउँदो लुगाको पनि छनोट गर्नुपर्छ । समय सुहाउँदो लुगाको छनोटले छनोटकर्ताको ब्यक्तित्वमा निखार ल्याउनुका साथै उनको चयन प्रति हेर्ने ब्यक्तिले पहिल्यै सहि ब्यक्ति रहेछ भनेर अनुमान गर्छन् ।

स्मार्ट हुनलाई शरीर पनि स्मार्ट हुनु पर्यो । शरीर स्मार्ट हुनका लागि खानपिनमा पनि उचित ध्यान दिनुपर्छ । उमेर अनुसार शरीरको बनावट ठिक हुनु राम्रो हो तर शरीरलाई धेरै ध्यान नदिदाँ शरीर अनावश्यक मोटो वा दुब्लो हुन जादाँ स्मार्ट देखिनुको सट्टा नराम्रो देखिनसक्छ । शरीर हेरेर पनि ब्यक्तिको मुल्यांकन हुने हुनाले स्मार्ट देखिन अझ महिलाहरूले आफ्नो स्वास्थ र शरीरको वारेमा बढी ध्यान दिनुपर्छ ।

स्मार्ट देखिनु भनेको मेरो विचारमा चिटिक्क पर्नु मात्र होईन । अझ कामकाजी महिलाहरूले आफुलाई स्मार्ट देखाउन आफुले पाएको कामलाई जिम्मेवारी ढंगले निर्धारित समयमा सक्नु पनि हो ।

जीवनमा धेरै किसिमका समस्याहरू आउने गर्छ । समस्या नहुने र समस्या नपर्ने ब्यक्ति को नै होला र ? यस्तो अवस्थामा जुन महिलाले आफुमा आएको समस्यालाई राम्ररी समाधान गर्न सक्छ र परिस्थितीहरू सहि ढंगले समाधान गर्न सक्छन् तिनै महिलाहरु स्मार्ट हुन्छन् ।

स्मार्ट हुनलाई आफ्नो ब्यवहारमा पनि परिवर्तन आउनु पर्छ
शोभा काफ्ले खतिवडा
साहित्यकार
स्मार्ट सबैजना हुनुपर्छ । अझ महिलाहरु स्मार्ट भएमा उनीहरूलाई समाजमा अगाडी बढ्न निकै मद्धत पुग्छ । स्मार्ट चाहेर पनि बन्न सकिने कुरा होईन आफुलाई स्मार्ट बनाउन चाहने ब्यक्तिले यसमा निरन्तर लागिरहेपछि मात्र सफलता पाईने कुरा हो ।

स्मार्ट हुनका लागि पहिलो कुरो आफुमा सकारात्मक सोचको बिकास गर्नुपर्छ । यसका लागि समयमा सुत्ने र समयमै उठ्ने गर्नुपर्छ, नियमित रुपमा योग र बिभिन्न एक्सरसाइज गर्नुपर्छ । आफ्नो खानपिनमा तामसी र राजसी भन्दा स्वात्विक खानपिनलाई बढी जोड दिनुपर्छ । खानपिनले पनि मानिसको ब्यवहारमा निकै परिवर्तन आउने हुनाले खानपिन सकभर सात्विक नै हुनु राम्रो हो ।

स्मार्ट हुनलाई आफ्नो ब्यवहारमा पनि परिवर्तन आउनु पर्छ त्यसैले पहिला घर भित्रकै ब्यवहारमा परिवर्तन ल्याउनु पर्छ । जस्तो आफ्नो घर परिवारको महत्व बुझेर घरका हरेक सदस्यहरुसंग समान ब्यवहार गर्नुपर्छ ।

जस्तो घरमा आदर गर्नुपर्नेलाई आदर र आफु भन्दा सानालाई माया गर्ने गर्नुपर्छ । परिवारका कुनै सदस्यलाई कुनै किसिमको समस्या वा सहयोग चाहिएमा सधै सहयोग गर्न तत्पर हुनुपर्छ । यसपछि समाजमा पनि यही ढंगले काम गर्दै गएमा समाजमा पनि आफ्नो उपस्थिती दह्रो हुदैं जान्छ ।

कुनै पनि कम गर्दा मृदु भाषामा स्पष्ट रुपमा राख्न सक्नु पर्यो । बोल्दा र प्रस्तुत हुदाँ आफ्नो हाउभाउ सहज र आकर्षक देखिने खालको हुनु पर्यो ।

आफुलाई स्मार्ट देखाउन पहिरनको छनोट पनि उचित हुनुपर्छ । कुन प्रयोजन, अवस्थामा कस्तो किसिमको पहिरन लगाउने हो त्यसको राम्रो जानकारी हुनुपर्छ । आफुले लगाउने पहिरनको छनोट सहि हुन सकेन भने आफुलाई मात्र नभएर वरिपरी रहेका ब्यक्तिलाई पनि कहिले काँहि असजिलो लाग्न सक्छ । त्यसैले पहिरनको छनोट उचित हुन सक्दा ब्यक्तिलाई स्मार्ट बनाउन मद्धत गर्छ ।

स्मार्ट हुनका लागि बिभिन्न बिषयहरुको जानकारी पनि राख्नु पर्छ । समय परिस्थिती अनुसार जस्तो किसिमको ब्यक्तिहरुसंग पनि भेटघाट वा कुराकानी हुन सक्छ । त्यस्तो अवस्थामा आफुलाई उक्त कुराको जानकारी छैन भनेर पन्छिनु भन्दा समय परिस्थिती अनुसार त्यसका बिभिन्न पक्षमा तर्क राख्न सक्नु नै स्मार्टपन देखाउनु हो ।

यसका लागि समसामयिक राजनीति, बिज्ञान, शिक्षा, चलचित्र, नाटक, गीत संगीत, साहित्य आदीको बिषयमा जानकारी पनि राख्नु पर्छ । यस्ता जानकारीले कुनै पनि बिषयमा कुराकानी गर्दा तर्क गर्न सक्ने र आफ्नो भनाई राख्न सक्ने भईन्छ । जसको कारण मानिसहरुको अगाडी स्मार्ट देखाउन मद्धत गर्छ ।

स्मार्ट हुनका लागि नियमित रुपमा पत्रपत्रिका र पुस्तकहरु पढ्ने बानी बसाल्नु पर्छ । अध्ययनले मानिसलाई तार्किक बनाउछ भने नियमित अध्ययनले धेरै कुराको जानकारीहरु दिने गर्छ ।

सेन्स अफ ह्युमर हुनुपर्छ
स्वर्णिम राजभण्डारी
ब्राण्ड म्यानेजर, जस्मिन हाईजिन

स्मार्ट हुनु मानिसको परिचय नै हो । कुनै पनि मानिस आफुलाई जति स्मार्ट बनाउन सक्छ उ उत्तिकै सफल पनि हुन्छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने महिलाहरुलाई स्मार्ट हुनु अनिवार्य जस्तै रहेको छ ।

कामकाजी महिला होस् वा गृहिणी महिला होउन् । उनीहरु आफ्नो काम अनुसार आफुलाई स्मार्ट बनाउन सक्दा नै उनीहरुले आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्छन् । मानिसले चाहेर आफुलाई स्मार्ट बनाउन सक्दैन ।

स्मार्ट बन्न केही पूर्वाधारहरु तयार भने अवश्य पार्नु पर्छ । जसको लागि पहिलो कुरा भनेको शिक्षा हो । उचित शिक्षाले मानिसमा ज्ञानको दायरालाई फराकिलो बनाउछ । त्यसैले शिक्षित ब्यक्तिले आफुलाई स्मार्ट देखाउनु र अशिक्षित ब्यक्तिले आफुलाई स्मार्ट देखाउनुमा धेरै नै फरक हुने गर्छ ।

स्मार्ट देखाउदा देखाउने ब्यक्तिमा आत्मविश्वासको कमी भयो भने त्यहाँ स्मार्टपन देखिदैन । त्यसैले कुनै पनि कुरालाई प्रस्तुत गर्नुभन्दा अगाडी उक्त कुराको ब्यापक अध्ययन र अनुसन्धान गर्न सकेमा आफ्ना कुराहरुलाई आत्मविश्वासका साथ प्रस्तुत गर्न सकिन्छ ।

स्मार्ट देखिने अर्को उपाय भनेको ब्यक्तित्व पनि हो । अफिस जाँदा होस् वा घरमै बस्दा नै किन नहोस् । सधै आफ्नो ब्यक्तित्व झल्किने पोशाक, मेकअप र हाउभाउ गर्न सक्नु पर्छ । जस्तो घरमै बस्दा पार्टीमा जाने जस्तो लुगा लगाउनु वा मेकअप गरेर ब्यक्तित्व झल्कदैन । त्यसैले समय र परिस्थिती सुहाउँदो मेकअप र ड्रेस सेन्स हुनु पनि स्मार्टपन देखाउनु हो ।

महिलाको सबैभन्दा राम्रो पक्ष भनेको लज्जा पनि हो । लजाउनु राम्रो हो भन्दैमा सधै लजाएर बस्नु पनि हुँदैन । समय परिस्थिती अनुसार लजाउनु राम्रो हो । तर आफ्नो कामलाई सफल बनाउने बेलामा लजाउनु भनेको घातक पनि हो । त्यसैले स्मार्ट देखिन चाहने महिलाहरुले आफ्नो कुरालाई तार्किक ढंगले प्रस्तुत गरेर आफुमा रहेको बौद्धिकतालाई पनि प्रस्तुत गर्न सक्नुपर्छ ।

कामकाजी होस् वा गृहिणी होस् उनीहरुमा ‘सेन्स अफ ह्युमर’ हुनु पर्छ । कुराकानीमा हाँस्यरस हाल्न सकियो भने माहौललाई रमाईलो ढंगले अगाडी बढाउन मद्धत गर्छ । यो कारणले महिलालाई स्मार्ट देखाउन थप मद्धत गर्छ ।

निशंकोच आफ्ना कुराहरु राख्नु पर्छ
श्वेता सिन्हा
समाचार वाचिका, कान्तिपुर टेलिभिजन

स्मार्ट भन्ने मेरो बिचारमा दुई किसिमकले हुन्छ । एउटा मानसिक रुपमा र एउटा बाहिरी रुपमा । त्यसैले कुनै पनि महिलाले आफुलाई स्मार्ट देखाउन चाहन्छिन् भने उनी मानसिक र शारीरिक रुपमै स्मार्ट हुनुपर्छ ।

स्मार्ट हुन कुनै पनि महिलामा आत्मविश्वास बलियो हुनुपर्छ । आत्मबिश्वास बलियो भने उनीहरुले आफुलाई जुनसुकै क्षेत्रमा पनि आफ्नो उपस्थितीलाई बलियो बनाउन सक्छन् । त्यसैले आफुलाई स्मार्ट देखाउन महिलाहरुमा आफुमै आत्मविश्वास हुनुपर्छ ।

स्मार्ट भन्ने कुरा आत्मबिश्वासले देखाएको जस्तै आफ्नो पर्सनालिटी पनि सोही अनुसार बनाउनु पर्छ । आफुले गर्ने काम अनुसारको पर्सनालिटी देखाउन सक्नु पनि स्मार्टपन हो ।

आत्मविश्वासले आफुलाई र पर्सनालिटीले हेर्ने ब्यक्तिको नजरमा स्मार्ट देखाउला । तर कुराकानी मार्फत् आफुलाई स्मार्ट देखाउन महिलाहरुले स्थानीय देखि अन्तराष्ट्रिय घटनाहरुको पनि जानकारीहरु राख्ने गर्नुपर्छ ।

कामकाजी महिलाहरुलाई कुन बेला के प्रसंगमा कुराकानी गर्नु पर्ने वा मिटिङ गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा केही उदाहरणहरु राखेर आफ्ना कुराहरुलाई प्रस्तुत गर्न सकेमा उनीहरुलाई स्मार्ट देखाउन मद्धत गर्छ ।

लज्जा नारीहरुको आभुषण हो । यो भन्दैमा महिला जति खेर पनि लजाएर बस्नु पनि हुदैंन । त्यसैले आफुलाई स्मार्ट देखाउन चाहने महिलाहरुले आफ्ना कुरा वा आफुले दिनु पर्ने निर्देशनहरुलाई बिना लज्जा वा शंकोच गर्न सक्नु पनि महिलाको स्मार्टपन हो ।

आफ्नो कामलाई जिम्मेवारी ढंगले सक्नु पर्यो
सुनिता उप्रेती
फेसन डिजाइनर, जुनेली कुपण्डोल
महिलाहरुलाई स्मार्ट देखाउने धेरै गुण र बिशेषताहरु रहेको छ । यसमा सबैको आ–आफ्नै अनुभव र तर्क हुन सक्छ । एउटा कुरा के हो भने हाम्रो जस्तो समाजमा महिलाहरु स्मार्ट हुदाँ उनीहरुलाई धेरै कुराले फाइदा गर्छ । यसले उनीहरुलाई सफलता पाउन मद्धत पनि गर्छ ।

मेरो बिचारमा महिलाहरुलाई स्मार्ट उनीहरुमा रहेको सहनशिलताले देखाउनु पर्छ । सहनशिलतालेनै महिलाहरुले आफ्नो काममा सफलता पाउछन् जस्तो लाग्छ । यो वाहेक महिलाहरु स्मार्ट हुनका लागि भद्र पनि हुनुपर्छ जस्तो लाग्छ ।

हामीलाई प्रकृतिले धेरै सुन्नका लागि दुई कान र कम बोल्नका लागि एउटा मुख दिएको छ । त्यसैले महिलाहरुले आफुलाई स्मार्ट बनाउन धेरै अरुको कुरा सुन्ने र कम बोल्ने खालको हुनु राम्रो हो ।

महिलाले आफुलाई स्मार्ट देखाउन आफ्नो काममा फोकस हुनुपर्छ । आफुले पाएको कामलाई जिम्मेवारी ढंगले समयमै सक्न सक्यो भने उनीहरुलाई स्मार्ट देखाउन मद्धत गर्छ ।

स्मार्ट परिवारको साथले पनि हुन्छ
सलिना शर्मा,
ब्राण्ड म्यानेजर, डाबर नेपाल

स्मार्ट देखिन त जो कोही पनि चाहिरहेका हुन्छन् । तर यो चाहना सबैको पुरा हुन्छ भन्ने पनि छैन । स्मार्ट बन्नु र स्मार्ट हुनु भन्ने कुरा फरक हो । स्मार्ट त जो कोही पनि हुन चाहन्छन् तर स्मार्ट बन्नका लागि अरुले स्मार्ट देखेपछि मात्र हुने कुरा हो ।

स्मार्ट बन्नका लागि पहिलो कुरा भनेको आफुमा आत्मबिश्वास हुनु नै हो । कुनै पनि काम म गर्न सक्छु भन्ने आँट गर्न सक्नुनै उनीहरुले आफुलाई स्मार्ट देखाउन चाहनु हो । त्यसैले महिलाले आफुलाई स्मार्ट देखाउन चाहनुहुन्छ भने आफ्नो आत्मबिश्वास बलियो बनाउनु नै पर्छ ।

स्मार्ट हुनका लागि अरुको देखासिकी गर्नु भन्दा आफैंमा सकारात्मक भावनाको बिकास गर्नुपर्छ । सकारात्मक भावनाको बिकासले काम पनि सकारात्मक रुपमा सम्पन्न हुन्छ ।
स्मार्ट हुनका लागि ज्ञानको खाँचो अपरिहार्य रहेको हुन्छ । त्यसैले कुनै पनि ब्यक्तिले आफुलाई स्मार्ट देखाउन चाहनुहुन्छ भने उचित शिक्षा भने लिएकै हुनुपर्छ ।

स्मार्ट भन्ने कुरा आफुमा भएपनि यसले अरु ब्यक्तिलाई प्रभावमा पार्न नसकेसम्म त्यसको कुनै अर्थ देखिदैन । यसरी अरुलाई प्रभावमा राख्न वा आफ्नो सफलतालाई पुष्टि गर्न शिक्षासंगै आफुले काम गर्ने क्षेत्र लगायत समसामयिक घटनाहरुको जानकार पनि हुनुपर्छ ।

यसले काममा सफलता दिलाउन मद्धत पनि गर्छ भने कुराकानी गर्दा आफ्नो अनुभव र शिक्षाको दायरा कत्तिको फराकिलो रहेको छ भन्ने कुरालाई पुष्टि पनि गर्छ ।

हामी आफुलाई कामकाजी रुपमा जतिसुकै स्मार्ट भएपनि यदी हामीलाई परिवारको साथ छैन भने त्यो कुरामा सफलता पाउन कमै सक्छौं । हामी कुनै न कुनै रुपमा परिवार र समाजसंग जोडीरहेका हुन्छौं । त्यसैले आफुलाई स्मार्ट बनाउन परिवार र समाजको पनि साथ सहयोग लिइरहनु पर्ने हुन्छ ।

निश्चित समयमा काम सक्नु नै स्मार्ट हो
सिता भट्टराई
फेसन डिजाइनर, सार्थक फेसन बुटिक, चावहिल

महिलाहरु अगाडी बढ्नका लागि स्मार्ट हुनै पर्छ । अहिलेको जमानामा आफुलाई अगाडी बढाउने मुख्य अस्त्र भनेकै स्मार्ट हुनु हो । त्यसैले महिलाहरुले आफुलाई स्मार्ट बनाउन आफु कुन क्षेत्रमा कार्यरत रहेको त्यो कुरामा बढी भन्दा बढी जानकारी र सुचनाहरु संकलन गर्न सक्नुपर्छ । यो कार्यले आफुले गर्ने काम र त्यसको सिमाहरुको बारेमा राम्ररी जानकरी हुन्छ र सोही अनुसार कामलाई निश्चित रुपमा सफल बनाउन सकिन्छ ।

आफुमा रहेको क्षमतालाई आफैंले मापन गर्न सकेमा कुनै पनि महिलालाई आफ्नो स्मार्टपनको वारेमा थाहा हुन्छ । त्यसैले आफ्नो क्षमतालाई सधै आफैंले परिक्षण गर्ने गर्नुपर्छ ।

कुनै पनि काममा सफलता पाउनका लागि महिलाले लक्ष्य बनाउनु पर्छ । यसरी लक्ष्य बनाउन सकियो भने काममा सफलता हात पर्छ । यसरी सफलता हात पार्नु पनि उनीहरुको स्मार्टपन हो ।

आफुले पाएको सफलता केबल आफ्नो लागि मात्र हुनु भएन । त्यो सफलताले जति धेरै भन्दा धेरै ब्यक्तिहरुलाई फाइदा हुन्छ त्यसको प्रभाव उत्तिकै बढी पनि हुन्छ । त्यसैले सधै बढी भन्दा बढी ब्यक्तिलाई फाइदा हुने किसिमको सफलता हात पार्न सकेमा आफ्नो स्मार्टपन धेरैलाई थाहा हुनसक्छ ।

कुनैपनि ब्यक्तिलाई स्मार्ट बनाउने भनेकै उसको कामको सफलताले हो । गफ गरेर स्मार्ट देखाउनु भन्दा काममा सफलता पाएर स्मार्ट देखिनु धेरै कुरामा फरक देखिन्छ । काममा सफलता पाउन लामो समय लगाईयो भने त्यो सफलताको कुनै अर्थ रहदैंन । त्यसैले कुनै पनि काममा सफलता निश्चित समय भित्र सम्पन्न गर्न सकेमा त्यसको अर्थ धेरैनै रहने गर्छ ।

Logo