काठमाडौँ
नेपाल र भारतका जलस्रोत अधिकारीबीच भारतको नयाँ दिल्लीमा वार्ता भएको छ ।
बिहीबारको वार्ताका निर्णयको माइन्यूटिङ भइरहेको दिल्लीमा रहेका एक नेपाली प्रतिनिधिले जानकारी दिए । बैठकमा दुवै देश सम्बद्ध आठवटा प्रमुख एजेन्डामा छलफल भएको छ ।
बिहीबार भएको सहसचिव स्तरीय बैठक (संयुक्त स्थायी प्राविधिक कमिटी) को नेतृत्व सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले गरेका छन् । भारतीय पक्षको नेतृत्व गंगा बाढी नियन्त्रण आयोगका अध्यक्ष अरुणकुमार सिन्हाले गरेका छन् ।
बैठकको एजेण्डाको पहिलो नम्बरमा महाकाली सन्धि कार्यान्वयन रहेको छ । यस अन्तर्गत टनकपुर ब्यारेजबाट नेपालले पाउने पानी नियमन गर्ने (हेड रेगुलेटर) को विस्तृत डिजाइन, ब्यारेजदेखि नेपाली भूमिसम्म ल्याउने नहर (लिंक क्यानल) छन् ।
यसैगरी महाकाली सन्धिकै अभिन्न अंग मानिंदै आएको महेन्द्रनगर टनकपुर लिंक रोड अर्को एजेन्डा छ । कञ्चनपुरको महेन्द्रनगरदेखि टनकपुर ब्यारेजसम्म जोड्ने सडक साँढे १३ किलोमिटर यो सडक भारतले निर्माण गरिदिने महाकाली सन्धिमै उल्लेख छ ।
अन्नपूर्णबाट
प्रकाशित: २७ पुष २०७५ ०६:०८ शुक्रबार