काफल बेचेरै एक लाख आम्दानी !

काफल बेचेरै एक लाख आम्दानी !


सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।

विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका छन् ।

भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जगंली फल काफल, कोइराल र अमला बेच्नेको ताति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइखर्चको समेत जोहो गर्ने गरेका छन् । विद्यालय समयपछि बालबालिका प्रायः सो व्यवसायमा लाग्ने गरेका छन् । काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेको अमरगढी– १ मालमका १६ वर्षीय दीपक दियालले बताए । काफल बेचेर कापी, कलम र लुगा किन्ने गरेको उनको भनाइ छ ।

यसवर्ष असिना पानीका कारण काफल पर्याप्त फलेको छैन । अमरगढी नगरपालिकाका ३६ वर्षीया राजमती विष्ट काफल बेचेर नै वर्ष दिनसम्म खान लाउन पुग्ने गरी आम्दानी गर्ने गरेको बताउछन् । काफल पाक्ने याममा रु ५० हजार देखि रु एक लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

अमरगढी नगरपालिकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुण्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीमा काफल सकंलन गरी बेच्ने क्रम जारी छ । गाउँबाट काफल बेच्नकै लागि स्याउले बजार र सदरमुकाम आउने महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

प्रदेश नं ७ को नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेको बिहानैदेखि रातिसम्म भीड लाग्छ । सदरमुकाम भएर ओहरदोहोर गर्ने यात्रु कोसेलीको रुपमा काफल लैजाने गर्दछन् । व्यापारीले थोकमा काफल किनेर तराईका विभिन्न जिल्लामा समेत बिक्री गर्दैआएका छन् । रासस

Logo