प्रधानमन्त्री र माधव नेपालबीच ४ घण्टा छलफल

प्रधानमन्त्री र माधव नेपालबीच ४ घण्टा छलफल


काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले  वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् ।

बालुवाटार स्राेतका अनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए । साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए । तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएका छन् ।

प्रधामन्त्री ओलीले नेकपाभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिस गर्न शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए भने आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोशिस गरिरहेका छन् ।

आज बिहानै  प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए ।

Logo