आमदब्लमको सफल आरोहण पश्चात पर्यटनमन्त्रीद्वारा कतारी राजकुमारलाई सम्मान

आमदब्लमको सफल आरोहण पश्चात पर्यटनमन्त्रीद्वारा कतारी राजकुमारलाई सम्मान


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् । आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उनले त्यस्तो बताएका हुन् ।

विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु नेपाली पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनको भनाइ छ । पछिल्लो समय सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै अहिले विदेशी पर्यटकहरुको आगमन पनि बढ्दै गएको उनले जानकारी दिए । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने जानकारी पनि पर्यटनमन्त्रीले दिए ।

त्यस्तै राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफू नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै छिट्टै पुनः अर्को भ्रमणमा आउने प्रतिवद्धता जनाए । नेपालका हिमालय र गाउँहरु आफूलाई धेरै मनपर्ने उनको भनाइ छ । उनले हरेक वर्ष एक पटक नेपालको भ्रमणमा आफू आउने गरेको पनि बताए ।

राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको थियो । कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो पटक हो ।

यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे ६ हजार १ सय ४५ मिटर र मनास्लु ८ हजार १ सय ६३ मिटर हिमाल आरोहण गरेका छन् । कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गरेका थिए । उक्त टोलीमा ५ नेपाली गाइडसहित १२ जना सहभागी थिए ।

Logo