छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्र

छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्र


नेपालगन्ज ।

क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा अघि बढिरहेको छ ।

एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारामा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।

केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।

म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहने बताइएको छ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ ।

दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद, एनओसी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरुले पनि कार्यक्रमलाई सघाउने नेपालगन्ज म्याराथनका अध्यक्ष एवं टीम लिडर टिएस ठकुरीले जानकारी दिए ।

कोरानो महामारीका कारण यसपटक मानिसको जमघटमा कोरोनाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनु पर्नेछ । दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।
यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।

यसपटक म्यराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्रोले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

Logo