विमान उडान सुचारु (भिडियोमा)

विमान उडान सुचारु (भिडियोमा)


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बन्द भएको आन्तरिक तथा बाह्य उडान सूचारु भएको छ ।
मालिन्दो एयरको विमान दुर्घटनामा परेपछि विहिबार राति १० बजेबाट अवरुद्ध भएको आन्तरिक तथा बाह्य उडान शुक्रबार विहान पौने ११ बजेबाट सूचारु भएको हो । मालिन्दो एयरको बी ७३७ नाइन हन्ड्रेट सेरिजको विमान उडान भर्ने क्रममा प्राविधिक कारणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको घाँसे मैदानमा चक्का भाँसिएको थियो । सोही कारण अवरुद्ध भएको विमानस्थलको आन्तरिक तथा बाह्य उडान शुक्रबार विहान पौने ११ बजेबाट संचालन गरिएको विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनु भयो ।

उहाँले करिव ११ बजे पत्रकार सम्मेलन गरी सो विमानलाई धावनमार्गको पूर्वतर्फ सारेर राख्ने व्यवस्था मिलाएपछि अवरुद्ध सबै उडानहरु सुचारु गर्न सकिएको पनि स्पष्ट पार्नु भयो । विमानस्थलले यात्रुहरुको चापलाई ध्यानमा राखेर २४ घण्टासम्म उडान संचालन गर्न लागिएको पनि जानकारी दिएको छ ।

विमान दुर्घटना भएको खवर आएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल प्रशासनलाई अवरुद्ध विमान सेवा सुचारु गराउन निर्देशन दिनु भएको थियो । उहाँले विमानस्थलमा हुने समस्या समाधानका लागि आवश्यक पहल गर्न पनि विमानस्थल प्रशासनलाई निर्देशन दिनु भएको पनि महानिर्देशक क्षेत्रीले बताउनु भयो । मन्त्री अधिकारीले शुक्रबार विहान ८ बजे विमानस्थलमै पुगेर विमान दुर्घटनाको स्थलगत अवलोकन समेत गर्नु भएको थियो । विमानमा चालक दलका ४ सदस्यसहित १ सय ३९ जना यात्रु सवार थिए । उनीहरु सबै सकुशल रहेको पनि विमानस्थल प्रशासनले जनाएको छ । विमान उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, उद्दार तथा अग्नी नियन्त्रकहरु, विमानस्थलका कर्मचारीहरु उद्दार कार्यमा खटिएका थिए । विमान उद्दारमा खटिएका सबैलाई विमानस्थल प्रशासनले आभार समेत व्यक्त गरेको छ ।

 

Skip This
Logo