जनकपुरधाम
उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन् ।
चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्ति सम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ ।’
मुख्यमन्त्री लालबाबु राउतसँग कारखाना पुनः सञ्चालन गर्ने र यसका लागि प्रदेश सरकारको सचिवालय स्थापना गर्न अर्को व्यवस्था नभएसम्मको लागि आवास क्षेत्र प्रयोग गर्ने सहमति भएको उनले बताए । ‘उद्योग मन्त्रालयलाई कुनै खबर नै नगरी कारखाना परिसरमा समेत प्रदेश सरकारको कब्जा फैलिएको छ ।
अहिले नै त्यो बोर्ड उखेलेर फालिदिएँ भने म माथि संघीयता विरोधीको धब्बा लागिहाल्ला भनेर छोडिदिएको हुँ । तर तत्काल कारखाना परिसर खाली गर्न प्रदेश सरकारसँग मेरो माग छ,’ मन्त्री यादवले भने । उनले यसवारे काठमाडौं फर्केर प्रधानमन्त्रीसँग पनि कुरा गर्ने बताए ।
नागरिकबाट
प्रकाशित: १४ माघ २०७५ ०८:५६ सोमबार