गणेशमान सिंहलाई यसरी सम्झिए राजनीतिज्ञहरुले (भिडियाेसहित)

गणेशमान सिंहलाई यसरी सम्झिए राजनीतिज्ञहरुले (भिडियाेसहित)


काठमाडौं ।

सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ । सिंहको जन्म जयन्तीका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको सम्बाहक र त्यागी नेताका रुपमा सम्झेका छन् । तत्कालिन समयमा राष्ट्रिय एकताका लागि उनले खेलेको भूमिको नेताहरुले प्रशंसा गरेका छन् । सिंहको जन्म जयन्तीका अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमानसिंहले राष्ट्रिय एकताका लागि लिनुभएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताए ।

राष्ट्रिय एकताका लागि उनले लिएका कदमहरु कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित भएको उनले बताए । कम्युनिष्ट र कांग्रेस भनेर सधै विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराएको सभामुख सापकोटाले बताए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सफलता हासिल भएको बताए । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले राजनीतिलाई पेशाका रुपमा लिने गरेको भएपनि सिंहले राजनीतिलाई सधै सेवाको रुपमा लिने गरेको उनले स्मरण गरे ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले सिंहले संगठन/सरकारमा जहाँ भए पनि आफ्नो फरक मत राखे पनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताइन् । पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंहका क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरुले सिक्न जरुरी रहेको उनले बताइन् । उनले भनिन्, ‘‘संगठन वा सरकारमा जहाँ भए पनि उहाँले आफ्नो विचार राख्नु हुन्थ्यो फरक मतको रुपमा तर उहाँले लोकतन्त्र र राजनीतिक दल कमजोर हुने गरी कहिले पनि आफ्नो काम गर्नु भएन । पार्टीको निर्णय स्वीकार गर्ने उनको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’’

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताए । चीनले सगरमाथामा आफ्नो दावी गर्दा वीपी कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नु पर्ने उनले बताए । सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्साहरु प्रकाशनको तयारी गरेको बताए । उनले आफूले ७९ नक्सा सहितको किताब प्रकाशनको तयारीमा आफु रहेको बताएका हुन् ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका थिए । नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

Logo