ओलीको चीनमोह, मोदीको ओलीमोह !

ओलीको चीनमोह, मोदीको ओलीमोह !


विदुर खतिवडा

आइतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग टेलिफोन सम्वाद गरे । निर्वाचन सम्पन्न भएपछिको ओली र मोदीको यो दोस्रो टेलिफोन सम्वाद हो । यस अगाडी निर्वाचन सम्पन्न भएर केपी ओली रसुवागढी गएको पर्सी पल्ट नै मोदीले टेलिफोन गरेर निर्वाचन जितेकोमा वधाई दिएका थिए । निर्वाचनमा वामगठवन्धको वहुमत आएलगत्तै रसुवागढी गएर ओलीले चीनको रेल ल्याउने उदघोष गरेका थिए ।

पहिलो टेलिफोन सम्वाद चाहि स्वभाविक नै थियो किन भने निर्वाचन सम्पन्न भए पछि वधाई दिनु स्वभाविक थियो । तर फेरी सरकार नबन्दै मोदीले ओलीलाई भावी प्रधानमन्त्री भन्दै वधाई दिएकाछन् । मोदीले ओलीलाई प्रधानमन्त्रीको रुपमा दिल्लीमा स्वागत गर्न आतुर भएको समेत बताएका छन् ।

मोदीले ओलीसंग यतिवेला कुरा गरिरहेका छन्, जतिवेला एमालेको एउटा पंक्तिले भारतले सरकार बनाउन नदिएको आरोप लगाईरहेको छ । त्यसैगरी भारतले वामगठवन्धन भत्काउन लागिरहेको आरोप स्वयं ओलीले लगाईरहेका छन् । काँङग्रेस र मधेशवादी दलहरुको समर्थन माप्रचण्डलाई भारतले प्रधानमन्त्री बनाउन लागेको केही एमाले नेताहरुको वुझाई रहेको छ ।

तर यतिवेला नै मोदीले ओलीसंग सामिप्य बढाईरहेका छन् । यसबाट के देखिन्छ भने भारतले नेपालसंग राजनितिक तहमा नै सम्वन्ध बनाउन चाहेको देखिन्छ । यता ओली पनि कर्मचारीतन्त्र भन्दापनि राजनितिक नेतृत्वसंग नै सम्वन्ध बढाउन चाहिरहेका छन् ।

नेपालमा वामगठवन्धनको सरकारले जितेपछि दिल्लीनिश्चयै नै चिन्तित छ । विशेषगरी पहिलाजस्तै ओली चीनतिर ढल्कने र त्यसले आफ्नो प्रभाव घट्ने चिन्ता भारतलाई छ । त्यसैले यति बेला मोदीले भारत वामगठवन्धनको विपक्षमा नरहेको सन्देश दिन चाहेको हुनसक्छ । सम्भवत सरकार बनेपछि ओलीले पहिलो भ्रमण भारतको नै गर्नेछन् ।
प्रधानमन्त्री नभइकन नै ओलीले सिधै मोदीबाट दुईपटक निमन्त्रणा पाईसकेका छन् । त्यसैगरी ओली प्रधानमन्त्री भए लगत्तै मोदी नै नेपाल भ्रमणमा आउने प्रवल सम्भावना रहेको छ । यस अगाडी नै अरुण तेस्रो जलविद्युत्त परियोजनाको उद्घाटनको लागि मोदी नेपाल भ्रमणमा आउने तय भएपनि निर्वाचनको कारण स्थगित भएको थियो । ओली प्रधानमन्त्री भएपछि अरुण तेस्रोका केही विषयहरु समाधान भएमा मोदीले नेपालको भ्रमणगर्ने सम्भावना रहेको छ । यति मात्र होइन, मोदीले रोकिएको जनकपुर र मुक्तिनाथको समेत भ्रमण गर्ने सम्भावना रहेको छ । यस अगाडी नेपाल र भारतको सम्वन्ध रद्ध हुनुको कारण मोदीको धार्मिक भ्रमण अन्तिम समयमा आएर रद्ध हुनु पनि थियो ।
नेपालमा बढ्दो चीनको प्रभावको सम्वन्धमा विशेषत भारतको चासो दुईवटा विषयहरुमा देखिन्छ । पहिलो, नेपालले चीनसंगको सहकार्य अगाडी बढाएपनि भारतको सिमानासम्म नै रेल निर्माण नगरोस भन्ने छ । विशेषगरी ओलीले चीनको रेल लुम्वीनीसम्म नै विस्तार गर्ने वताईरहेका छन् जसप्रति भारत निकै संशकित देखिन्छ ।
यदि चीनको रेल लुम्वीनी सम्मविस्तार भएमा त्यसले आफ्नो सुरक्षा चासोमा गम्भीर असर गर्ने भारतको धारणा रहेको छ । दोस्रो, आर्थिक प्रभावको प्रलोभनमा चीनले नेपालमा सैनिक तथा सामरिक शक्ति वढाउँदै लैजाने र त्यसले आफ्नो सुरक्षामा असर गर्ने भारतको चिन्ता रहेको छ । त्यसैले नेपालमा वामगठवन्धनको सरकार बनेपछि यि दुई विषयहरुमा भने कुनै प्रगती नहोस भन्ने भारतको चाहना रहेको देखिन्छ । विशेषत नेपालमा संविधान निर्माण भएपछिको अबस्थामा ओलीले आफुहरुसंग सम्वन्धमा ध्यान नदिएको र चीनसंग नजिक रहेको भारतको बुझाई रहेको छ ।

यति मात्र होइन, नेपालमा भारत विरोधी गतिविधी वढाएको आरोप समेत भारतिय अधिकारीहरुले ओलीमाथि लगाईरहेका छन् । विशेषत नाकावन्दीको समयपछि ओली र भारतको सम्वन्धझनै विग्रयो ।

नाकावन्दीको अन्तभएपछि ओलीभारत भ्रमण गए । भारत भ्रमणको समयमा ओलीले दुई देशको विचमा रहेको असमझादरीको अन्तभएको घोषणा गरेपछि सम्वन्ध सामान्य अबस्थामा फर्किसकेको थिएन् । दुई देशको बीचमा रहेको असझदारीको कारण नै ओलीको भ्रमणको समयमा संयुक्तवक्तव्य समेत जारी हुन सकेन् । भारतबाट फर्केपछि ओलीले चीनको भ्रमण गरे र पारवहन लगायतका महत्वपूर्ण सम्झौताहरु गरे जसलाई भारतले रुचाएन् । भारतिययहरुले यसलाई ओलीले राजा महेन्द्रको जस्तै चिनियां कार्ड खेलेको आरोप लगाए ।

दक्षिणएसियाली सबै मुलुकहरुमा चीनको प्रभाव बढीरहेको छ । भारतले चाहेर पनि रोक्न सकेको छैन । तर भारत चाहान्छकि नेपालमा चीनको प्रभाव नवढोस र आफ्नो परम्परागत प्रभावले निरन्तरता पाईरहोस । अथवा, नेपाल आफ्ना्े सुरक्षाछाताभित्रै नै रहोस भन्ने भारतको चाहना रहेको देखिन्छ ।

उता चीनपनि नेपाललको मायालागेर नै आर्थिक सहकार्यको प्रस्ताव लिएर आएको भने होइन् । उसको ठूलो व्यापारिक चासो छ । नेपालसंग रेल जोडेर उसले आफ्नो देशका उत्पादनहरुलाई नेपालको बजार मात्रहोइन नेपालहुँदै दक्षिण एसियासम्म लैजान चाहान्छ । उसले नेपालको हितहोइन आफ्नो हित हेर्छ भन्ने कुरा तातोपानी नाकाबाट नै स्पष्ट भईसकेको छ ।

भुकम्पको वहानामा वन्दगरिएको तातोपानी भन्सार नाका अहिलेसम्म बन्द भएको छ । तातोपानी देखि केही वरसम्मको वाटोलाई चीनले तदारुकताका साथ वनाउने हो भने चीनबाट सामान ल्याउने कुरा धेरै कठिन छैन् । त्यसैले यति वेलाचीन र भारत दुवै आफ्नो स्वार्थको लागि नेपालका नेताहरुलाई आफ्नो पक्षमा पार्न तल्लिन रहेकाछन् । विशेषत वामगठवन्धनलाई चीनतिर नजिक भएको र नेपाली काँङग्रेसलाई भारततिर नजिकभएको जर्वरजस्ती रुपमा देखाउने प्रयास भईरहेको छ ।

प्रधानमन्त्री भएपछि ओली भारत र चीन दुवैको तानातानी पर्ने लगभग पक्का रहेको छ । अब विगतमा भएका सन्धी र सम्झौता कार्यान्वयन गर्न सजिलो हुने चीनको वुझाई रहेको छ । उता भारत भने ओली आफ्नो पुरानो मित्र भएको र विगतमा केही सम्वन्ध बिग्रेको भएपनि अब सहजरुपमा अगाडी वढ्नेमा विश्वस्त देखिन्छ । त्यसैले राष्ट्रवादीधार वनाएका ओलीको लागि यतिवेला सबैभन्दा ठूलो चुनौती भारत र चीनसंगको सम्वन्धलाई अगाडी वढाउनु नै हो । कुनै एक मुलुकसंग कुनै सम्झौता अगाडी वढाउँदा अर्काे मुलुक शशंकित हुने अबस्था रहेको छ ।

Logo