ज्ञानमणि नेपाल कालोटोपी

सके सम्म नेपाली टोपी सधैं लगाउनु नेपाली मात्रको पहिचान हो । "/>

जनवरी १ र नेपाली टोपी दिवसको सन्दर्भ

जनवरी १ र नेपाली टोपी दिवसको सन्दर्भ


ज्ञानमणि नेपाल कालोटोपी

सके सम्म नेपाली टोपी सधैं लगाउनु नेपाली मात्रको पहिचान हो । तर विगत केहि वर्ष देखि विशेष गरि नेपाली युवाहरुले आफ्नो नेपालीत्व विर्सिएर पश्चिमा संस्कृती तर्फ ढल्किरहेको आभास हुन गइरहेको छ । अझ आफ्नो नेपाली संवत भुल्दै अंग्रेजी संवतलाई भव्य बनाउन हाम्रा युवाहरु अहिले पनि सक्रिय रहेका छन् । अरुको संस्कृति नमान्नु भन्ने हाम्रो उद्देश्य होइन, तर अरुको संस्कृति मान्दै गर्दा नेपालीपन विर्सनु भने पक्कै राम्रो होइन । त्यसैले अंग्रेजी नयाँवर्षमा पनि नेपाली पहिचान झल्कने कार्यक्रम गर्न सकिन्छ भन्ने अभिप्रायका साथ विगत ५ वर्ष देखि जागरुक युवा अभियान नेपालले जनवरी १ लाई अन्र्तराष्ट्रिय नेपाली टोपी दिवसका रुपमा मनाउन थालेको छ ।

विश्वमा हरेक मुलुकहरुको आ–आफ्नो मौलिक पहिचान छ । पहिचानको मुख्य आधार मानिने पोशाकलाई अधिकांश मुलुकले आफ्नो पहिचानका रुपमा सुचिकृत गरेका छन । तर नेपाल र आम नेपालीलाई विश्व समुदाय माझ चिनाउदै आएको एउटै मात्र पोशाक दौरा, सुरुवाल, टोपी र गुन्यू चोलोलाई गणतन्त्र पछिको तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएको छ । मुलुकमा जातीय पहिचानको आवाज बुलंद बनिरहँदा हामी अहिले राष्ट्रिय पहिचान बिहिनताको अवस्थामा छौं । जातीय पहिचानको महत्व जति छ राष्ट्रिय पहिचानको महत्व पनि उत्तिकै छ । पहिलो कुरा मुलुक हो तब मात्र क्षेत्र, धर्म, जाति हुन्छ तसर्थ हामी जातीय पहिचान सँगसँगै राष्ट्रिय पहिचानको खोजीमा छौं ।

त्यसका लागि हामीले विगत ४ बर्ष देखि विभिन्न अभियानहरु संचालन गर्दै आयौं । जस मध्ये हरेक अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउने हाम्रो मुख्य अभियान हो । यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारा सहित पाँचौ नेपाली टोपी दिवसका रुपमा मनाउन लागिएको जानकारी हामीले गराइसकेका छौं । सम्भव भए सम्म दौरा, सुरुवाल, टोपी र गुन्यूचोली लगाऔ नभए नेपाली टोपी अवस्य लगाऔ भन्ने कुरालाई आत्मसाथ गर्दै विगत देखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । नेपाल बहुजातीय र बहुसाँस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको पनि संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अर्काे मूल लक्ष्य हो ।

अभियान अन्तर्गत जागरुक युवाहरुले अहिले नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्ने, कार्यक्रममा सहभागि हुन नसक्नेले नेपाली टोपीमा सजिएर सामाजीक सञ्जालमा आफ्नो तस्विर सार्वजनिक गर्ने र अभियानका बारेमा सक्दो प्रचारप्रचार गर्ने गरिरहेका छन् । सके सम्म हामीले सबै किसिमका नेपाली पहिचान झल्किने पोशाक सधैं लगाउनु पर्छ । यदि त्यो संभव भएन भने नेपाली टोपी मात्र भएपनि लगाउँ भन्ने जागरुक युवा अभियान नेपालको मुख्य उद्देश्य हो । यस दिन लाई धेरै साथीहरुले पोशाक दिवसको रुपमा पनि मनाउँदै आएका छन् । आखिर जे जसरी भएपनि नेपालीत्व झल्किने गरि अभियान चलाउनुलाई हामीले स्वभाविक रुपमा लिएका छौं ।

हामीले यति गरि रहँदा पनि मुख्य समस्या भनेको सरकारले नै अहिले राष्ट्रिय पोशाक नै हटाएको छ । हाम्रो मुख्य अभियान सरकारलाई यो हो कि हाम्रो राष्ट्रिय पोशाकलाई निरन्तरता दिनु भन्ने नै हो । जून दिन हामीले हाम्रो पहिचान सहितको राष्ट्रिय पोशाक फिर्ता पाउँछौं, त्यो दिन मात्र हामीले हाम्रो अभियान सफल भएको ठान्ने छौं । यस विषयमा परररर ताली बजाएर राष्ट्रिय पोशाक हटाएका नेताहरुको ध्यान जान सकोस भन्ने पनि हाम्रो दवाब मुलक राष्ट्रिय अभियान हो । अहिले हामीले धेरै तिरबाट साथ र सहयोग पाउँदै आएका छौं । जनवरी १ मा तारे होटलमा अंग्रेजी वर्ष मनाउँदै आएका नेपाली युवाहरुले पनि हाम्रो राष्ट्रियतासँग कुनै पनि सम्झौता नगरुन् भन्ने पनि हाम्रो मुल ध्येय हो । हामी सबै जात जाती, धर्म र संस्कृतिको सम्मान गर्छौं, यो हाम्रो पुख्र्यौली मान्यता पनि हो । यसो गरिरहँदा कतै हामीले आफ्नै संस्कृति त भुलिरहेका छैनौं भनेर पनि सोच्नु अहिलेको आवश्यकता हो भनेर पनि हामीले जनवरी १ लाई नै नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएका हौं । यो दिवस त्यतिखेर सम्म चलिरहन्छ, जतिखेर सम्म हामीले हाम्रो लक्ष्य पुरा गर्दैनौं ।

कुनै पनि नागरिकले आफ्नो देशलाई माया गर्छ भने उसले आफ्नो संस्कृति, भेषभुषा, पहिचान र राष्ट्रियतालाई भुल्न सक्दैन । अझ नेपाली टोपीको कुरा गर्ने हो भने यसको छुट्टै महत्व छ । एउटा टोपीले नेपालको भौगोलिकतालाई पनि झल्काएको हुन्छ । चुच्चो परेको भागले हिमाल, विचको भागले पहाड र तलको सम्म परेको घेराले तराईलाई संकेत गरेको छ । यस्तो टोपी अरु कुनै पनि देशको टोपीसँग मेल खाँदैन । हाम्रो टोपीलाई विदेशीहरुले त माया गर्छन् भने हामीले किन नगर्ने भनेर पनि सोच्नु जरुरी छ । सरकारले सोचेन, हाम्रा नेताहरुले सोचेनन्, त्यसो भनेर के अब हामी युवाहरुले पनि नसोच्ने त ? के हामी हाम्रो राष्ट्रियता यति सजिलै भुल्न सक्छौं ? पक्कै पनि सक्दैनौं । त्यसो हो भने नेपाली पहिचानलाई माया गर्नै पर्छ । सके सबै खाले पहिरन लगाउँ, नसके नेपाली टोपीलाई नछोडौं भन्ने यस अभियानमा एकदिन हाम्रा राजनितीक दलहरु पनि पक्कै आउँनेछन् । यो महान अभियान एउटा व्यक्तिको लागी मात्र होइन, सम्पूर्ण नेपालीहरुको लागी हो । त्यसैले सबैको साथ पाउनेमा हामी ढुक्क छौं । यसवर्षको जनवरी १ लाई पनि राष्ट्रिय दिवसका रुपमा मनाउँ । राष्ट्रिय पोशाक र नेपाली टोपीलाई माया गरौं । यसो गर्न सक्यौं भने मात्र हामीले हाम्रो पहिचानलाई निरन्तरता दिन सक्नेछौं । यसलाई हाम्रा सन्ततीहरुलाई पनि सिकाउन सक्नेछौं । जय नेपाली टोपी दिवस, जय नेपाली संस्कृति, जय नेपाली पहिचान ।।।

 

Logo