इपिएल क्रिकेट: ललितपुर प्याट्रियट्स विजयी

इपिएल क्रिकेट: ललितपुर प्याट्रियट्स विजयी


काठमाडौँ, ३ पुस । राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो ।

ललितपुरका लागि भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित ४४ रनको योगदान दिए । उनले ४७ बलमा २ छक्का र ४ चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले २० र राजवीर सिंहले १४ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि श्रीलंकन खेलाडी अक्षु फर्नाण्डोले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको काठमाडौँले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन जोडे । उनले २८ बल खेल्दै चार चौका प्रहार गरे । अक्षु फर्नाण्डोले १५, सोमपाल कामी १४ तथा कप्तान महरुफ फरवेज र सुबोध कुमारले सात/सात रन बनाए ।

बलिङतर्फ ललितपुरका लागि सुबोध भाटीले चार, ललितनारायण राजवंशीले तीन, मेहबुव आलमले दुई र योगेश नागरले एक विकेट लिए । प्रतियोगितामा ललितपुरका ललितनारायण म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैंया पुरस्कार पाए ।

मंगलबार पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोजका बीच तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सका बीच हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपैंया पुरस्कार प्राप्त गर्नेछ ।

Logo