स्टकको आगलागी छानबिन समिति गठन

स्टकको आगलागी छानबिन समिति गठन


काठमाडौँ, २८ मंसिर । नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए । समितिमा को को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन ।

आगलागीका कारण स्टकको ५० लाख रुपैंया भन्दा बढी क्षति भएको हुनसक्ने देखिएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सलेसमेत छानबिन शुरु गरेको छ । ‘थप क्षति कति भयो भन्नेबारेमा अध्ययनबाट मात्रै थाहा हुन्छ, छानबनि प्रक्रिया प्रारम्भिकरुपमा शुरु भएको छ’ –पराजुलीले भने ।

उता आगलागीका कारण आज केही समय बन्द भएको धितोपत्र बजार भने सकारात्मक देखिएन । स्टकको केन्द्रीय सर्भर नै नचलेपछि कारोबार १ घण्टा ५५ मिनेटपछि शुरु भएको थियो । बजार सामान्यतया बिहान ११ बजेदेखि शुरु हुने भए पनि आज १ बजेदेखि शुरु भएको थियो ।

आज बजार भने साँझ ५ बजेसम्म खुला रहेको थियो । स्टककाअनुसार आज कुल १ सय ५३ कम्पनीको १४ लाख ८४ हजार ३ सय ६१ कित्ता सेयर ४५ करोड ३१ लाख ४४ हजार ९ सय २९ रुपैंयाको कारोबार भएको छ ।

नेप्से परिसूचक भने शुन्य दशमलव ५९ बिन्दुले घटेर १ हजार ५ सय २० अंकमा पुगेको छ । आज व्यापार ३ दशमलव १३, फाइनान्स ४ दशमलव २३, उत्पादन ४ दशमलव ०९ र अन्य समूह १३ दशमलव ५९ बिन्दुले बढेको थियो । यस्तै बैंकिङ १ दशमलव ९३, होटल २७ दशमलव ६४, विकास बैंक १ दशमलव ५८, जलविद्युत् २३ दशमलव ४८ र बीमा समूह २० दशमलव ५७ बिन्दुले घटेको छ ।

Logo