मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा मधेशी गठबन्धन कमजोर

मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा मधेशी गठबन्धन कमजोर


–राजु विश्वकर्मा

लहान, २६ मंसिर । मधेश आन्दोलनको उद्गमस्थल मानिएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेशी गठबन्धन कमजोर देखिएको छ भने वाम गठबन्धन सुदृढ देखिएको छ ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिँदा सिरहाको प्रतिनिधिसभा र प्रदेशसभाका १२ वटा क्षेत्रमध्ये आठमा वाम गठबन्धनले बाजी मारेको छ ।

सिरहाको प्रतिनिधिसभातर्फ रहेका ४ क्षेत्रमध्ये २ वटा र प्रदेशसभाको ८ वटामध्ये ६ वटा गरी ८ वटामा वाम गठबन्धनले सफलता हात पार्दा एक प्रतिनिधिसभा र २ प्रदेशसभामा मधेशी गठबन्धन र एक प्रतिनिधिसभामा नेपाली काँग्रेस विजयी भएको छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादव र क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता प्रदीप गिरी र क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचित भएको सिरहाका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

त्यस्तै सिरहाको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को (क) र (ख) दुबैमा वाम गठबन्धनकै उम्मेदवारहरु क्रमशः लगनलाल चौधरी (एमाले) र अशोककुमार यादव (एमाले) निर्वाचित हुनुभएको छ । क्षेत्र नम्बर ३ को (क) र (ख) मा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा माओवादी केन्द्रका रामकुमार यादव र (ख) मा एमालेका प्रमोद यादव निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ (ख) मा एमालेका मदनसेन श्रीवास्तव र क्षेत्र नम्बर ४ (क) मा माओवादी केन्द्रका दिलीप साहले सफलता हात पारेका थिए ।

मधेशी गठबन्धनले सिरहा क्षेत्र नम्बर २ (क) मा र क्षेत्र नम्बर ४ (ख) मा मात्र विजयी हासिल गर्न सक्यो । क्षेत्र नम्बर २ (क) मा संघीय समाजवादी फोरम नेपालका विजय कुमार यादव र क्षेत्र नं ४ (ख) मा राजपाका सुरेश कुमार मण्डल निर्वाचित भएका छन् ।

प्रतिनिधिसभातर्फ एउटा मात्र क्षेत्रमा जित्न सकेको काँग्रेसले सिरहामा प्रदेशसभातर्फ एउटा पनि क्षेत्रमा जित्न सकेन । मधेशी गठबन्धनले जितेको सिरहाको तीन वटा क्षेत्रमध्ये दुई वटामा वाम गठबन्धन नै निकटतम प्रतिष्पर्धी रहे ।

यसरी मधेश आन्दोलनको उद्गमस्थलमै मधेशी गठबन्धनको चुनावी परिणाम निराशाजनक आएपछि नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्यचकित भएका छन् ।

आन्दोलनकै गर्भबाट जन्मेको मधेशी गठबन्धनले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी पराजित हुँदा आफुहरु आश्चर्यमा परेको यहाँ सर्वसाधारण बताउँछन् ।

मधेशी गठबन्धनमा आबद्ध दलका नेताहरुबीच टिकट वितरणमा भएको किचलो, वामपन्थी दलहरुको सशक्त गठबन्धन, मधेशी गठबन्धनभित्रकै अन्तर्घात र अन्य दलहरुको धन बलका कारण यहाँ मधेशी गठबन्धनको कमजोर परिणाम आएको मधेशी गठबन्धनका नेता तथा राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतो बताउछन् ।
सर्वसाधारण मात्र होइन, स्वयं मधेशी गठबन्धनका नेताहरु समेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम देख्नपरेको स्वीकार गर्छन् ।
‘निर्वाचन हुनुभन्दा अघिसम्म हामी यस्तो नराम्रो परिणाम आउँछ जस्तो लागेको थिएन,’ महतोले भने – ‘तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्य परेका छौं ।’

‘चुनावअघि सिरहामा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ क्षेत्रमा जित्छौं भन्ने लागेको थियो, तर त्यो हुन सकेन,’ उनले अगाडि थपे – ‘हामी लामो समयसम्म आन्दोलनमा होमियौं तर आन्दोलनका एजेण्डाहरु जनतामाझ जसरी पुर्‍याउनु पर्दथ्यो त्यसरी पुर्‍याउन नसक्नु, राम्ररी प्रचारप्रसार गर्न नसक्नु र कतिपय ठाउँमा गठबन्धनकै कार्यकर्ताहरुबाट अन्तर्घात हुनु जस्ता कारणले हामी सिरहामा नमिठो हार बेहोर्न बाध्य भयौं ।’

आन्तरिक एकता मजबुत नहुनु र आन्दोलनका एजेण्डाहरु गाउँ गाउँसम्म पुर्‍याउन नसक्नु हारका अन्य कारण भएको उनको कथन छ ।

अहिलेको चुनावमा भएको कमीकजोरीमाथि गठबन्धन घटक दलका नेताहरुबीच छलफल गरी आगामी दिन सुदृढ ढंगबाट अघि बढ्ने उनले बताए ।

Logo