‘यो कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने चुनाव हो’ : देउवा

‘यो कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने चुनाव हो’ : देउवा


केन्द्रबिन्दु संवाददाता । पोखरा, १३ मंसिर ।

‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ,’ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार पोखराको अमरसिँहचोकमा आयोजित चुनावी सभालाई संवोधन गर्दै भनेका छन्,‘कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, उनीहरू भोलि पनि डराउने दिन ल्याउन लागेका छन् ।’

प्रधानमन्त्री देउवा वामगठबन्धनप्रति बढी आक्रोशित देखिन्थे ।

वामगठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने,लेख्ने र सम्पत्तिको अधिकार नहुने भन्दै उनले वामगठन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर समेत गरे ।

‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने चुनाव हो’, उनले अगाडि भने,‘यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टहरुले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’

सातसालदेखि परिवर्तनको नेतृत्व गरेको काँग्रेसले वामगठबन्धनको इरादा पूरा गर्न नदिने उनले दावी गरे ।

उनले वामगठबन्धनले दिएको सम्वृद्धिको नारा फोस्रो भएको आरोप पनि लगाए । ‘कहाँबाट सम्वृद्धि (वामगठबन्धनले) ल्याउँछन्, उनीहरु आए स्वदेशी विदेशी लगानी नेपाल आउँदैन’, देउवाले भने,‘विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’

नेपाली काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उनले मूलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दावी गरे ।

यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामगठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउन लागेको आरोप लगाए ।

नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन गर्ने जिकिर गरे ।

(तस्बिर : रासस)

 

Logo