जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ


सर्लाही ।

जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

प्रसिद्ध गोरु व्यापारी सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह (दिनेश), सोही ठाउँका रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय मङ्गलबार साँझ पक्राउ परेका प्रहरी नायब उपरीक्षक भाटले बताए ।

जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट ६० हजार ९९५ नेपाली र भारु पाँच हजार २०० बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताए । गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेको समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सिंहले कात्तिक ५ गते ना६ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरी बाहिर निर्यातका लागि पठाएका थिए तर सामाजिक अभियानकर्मीले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ ।

तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहको राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ ।रासस

Logo