‘सिएनएन हिरो’ अनुराधा कोइराला काँग्रेस प्रवेश

‘सिएनएन हिरो’ अनुराधा कोइराला काँग्रेस प्रवेश


काठमाडौं, २६ कात्तिक ।

‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश रेकी छन् ।

आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमम पार्टीमा स्वागत गरेका हुन् ।

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गरेकी हुन् ।

“सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने काँग्रेस मात्रै हो,” कोइरालाले पार्टी प्रवेश पछि भनिन्, “लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।”

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताइन् । उनले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान गरेकी छन् ।

“म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउनसक्ने नीति बोकेको काँग्रेसलाई मतदान गर्न अपिल गर्दछु,” उनले भनिन् ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गरेकी कोइराला अहिले काँग्रेसका पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन् ।

“अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार काँग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ,” उनले भनिन्, “त्यसैले संविधान कार्यान्वयनको चुनौतीपूर्ण अहिलेका अवस्थामा काँग्रेसका पक्षमा मतदान गरेर छ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।”

 

Logo