एसिसी यू–१९ क्रिकेट : नेपालविरुद्ध १८६ रनको लक्ष्य पाएको भारत बलियो अवस्थामा

एसिसी यू–१९ क्रिकेट : नेपालविरुद्ध १८६ रनको लक्ष्य पाएको भारत बलियो अवस्थामा


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ कात्तिक ।

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज आइतबार जारी म्याचमा नेपालले भारतलाई १८६ रनको विजय लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा भारतले २५ ओभरको खेल सकिँदा तीन विकेटको क्षतिमा १०० रन बनाइसकेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएपछि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन मात्र जोडे । ओपनर जितेन्द्र सिंहले ३६ रन जोड्दै क्याप्टन दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

जितेन्द्र पेभेलियन फर्केपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोडे । उनी इनिङको ४९औं ओभरमा आउट भएका थिए ।

मध्यक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लोक्रमका ब्याट्सम्यान मा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए ।

भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २र२ विकेट लिए । त्यसैगरी विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि १-१ विकेट लिए ।

यस अघि नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध २ विकेटले पराजित भएको थियो । नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी रहँदै ८ विकेटको क्षतिमा ३९.५ ओभरमै हासिल गरेको थियो ।

Logo