अमेरिकी राष्ट्रपति निर्वाचन : नतिजा आउन शुरु, ट्रम्पभन्दा बाइडेन अगाडि

अमेरिकी राष्ट्रपति निर्वाचन : नतिजा आउन शुरु, ट्रम्पभन्दा बाइडेन अगाडि


काठमाडौं ।

मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजा आउन शुरु भएको छ । प्राप्त पछिल्लो नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्।

बिबिसीले जनाए अनुसार बाइडेन डेलावर, मेरिल्याण्ड, म्यासाचुसेट्स, न्युजर्सी र डिस्ट्रिक्ट अफ कोलम्बियामा अगाडि देखिएका हुन्।

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने वेस्ट भर्जिनिया, ओक्लाहामा, टेनेसी, इण्डियाना र केन्टुकी राज्यमा जित्ने अनुमान गरिएको छ।

अमेरिकी चुनावले कसरी काम गर्छ ?

अमेरिकी राजनीतिक प्रणालीमाथि मात्र दुईवटा पार्टी हावी छन्। अतः राष्ट्रपति कि डेमोक्र्याट (जो बाइडन) हुन्छन् कि रिपब्लिकन (डोनल्ड ट्रम्प)।

हरेक चार वर्षमा चुनाव हुन्छ, १८ वर्ष र सोभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन्।

दुवै उम्मेदवार इलेक्टोरल कलेजको मत पाउन प्रतिस्पर्धा गर्छन् जुन हरेक राज्यको जनसङ्ख्याको आधारमा निर्धारित हुन्छ। जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ।

अहिले सारा ध्यान ट्रम्प र बाइडनको निर्वाचनमा छ तर मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन्।

विज्ञापनमा कति खर्च भएको छ?

अमेरिकी चुनावी अभियानहरूमा विज्ञापन एउटा महत्त्वपूर्ण हिस्सा हुने गरेको छ र यो वर्षको चुनाव पनि अपवाद हुन सकेन।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ । त्यसमध्ये अधिकांश रकम टेलिभिजन विज्ञापनमा खर्च भएको छ।

राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले चाहिँ ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको छ।

ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीले भन्दा थप चार करोड ३० लाख डलर डिजिटल विज्ञापनमा खर्च गरेको हुन सक्ने जनाइएको छ।

Logo