२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

आमाको नामबाट नागरिकता दिए राष्ट्र नै धरापमा पर्ने ?

1
1
1
1

काठमाडौं । नागरिकताबाट प्रभावित व्यक्तिहरूको आमाको नामबाट नागरिकता नपाएको गुनासो गरेका छन् । संविधानमा उल्लेख गरिएको व्यवस्था अनुसार आमाको नामबाट नागरिकता नपाएको भन्दै उनीहरुले आमाको नामबाट मात्रै पनि नागरिकता दिन माग गरेका हुन् ।

नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर संविधानमा लेखिए अनुसार आमाको नाममात्रै पनि सजिलै नागरिकता लिन पाउने कानुन बनाउन माग गरेका हुन् ।

आमाको नामबाट नागरिकता बनाउन नपाएका झण्डै ३ हजार जनाको सञ्जालले संविधानभन्दा प्रतिगामी कानुन नबनाउन संसदलाई आग्रह गरे।

विभिन्न समयमा नेता, बुद्धिजीवी र सांसदले संविधानको भावनाविपरीत आमाको नामबाट नागरिकता दिन नहुने भन्दै गरेका लविङ् र तर्कको सञ्जालले खण्डन गरेको छ।

‘आमाको नामबाट नागरिता दिए राष्ट्र धरापमा पर्छ भन्दै छलफलमा रहेको विधेयकसमेत स्थगित गर्ने लविङ भैरहेको छ,’ सञ्जालकी संयोजक दिप्ति गुरूङले भनिन्, ‘आफ्नो झ्यालको ढोका खुलै राख्ने र चोरी भयो भनेर घरका आइमाई कुट्ने व्यवहार बन्द गरौँ। आमाको नामबाट नागरिकता नपाएर लाखौँ मानिसहरू आफ्नै देशमा अनागरिक हुन बाध्य छन्।’

सञ्जालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ:

नागरिकता बिहिनहरुको बयान

यी तलका बयानहरु हाल अनागरिक अवस्थामा रहेकाहरुले व्यक्तिगत रुपमा हामीलाई भेटेर अथवा ईमेलमार्फत लेखेर पठाएका सांसदज्युहरुलाई सोधिएका प्रश्नहरु हुन् ।

नमस्ते,

हामी नागरिकताबाट प्रभावित ब्यक्तिहरुको सञ्जालबाट आएका हौं । आज हामी यहाँ आउन बाध्य भएका छौं । आमाको नामबाट नागरिकता पाउने कानुनी आधार नभएको भनि नागरिकता पाउनबाट बञ्चित गराइएका हामीहरुले सामना गरिरहेको पीडा र समस्या तपाईंहरुसमक्ष राख्न आइपुगेका छौं । आशा छ यहाँहरुले न्यायोचित सहयोग गर्नुहुनेछ ।

हामीले नागरिकता पर्खेर बसेको धेरै भईसक्यो । हामी मध्येका केही प्रतिनिधि पीडाहरु र प्रश्नहरु निम्नानुसार छन् :

१. बाबुले सानैमा अर्को महिला विवाह गरेर गए, तीनले वास्ता गरेनन, आमाले दुःख गरेर हुर्काइन् । जब हामी आफ्नो मात्रै आमाको मेहनत र साहसले हुर्क्यौं, बढ्यौं र पढ्यौं । अब हामी आफ्नो आमालाई सुख दिन चाहन्छौं । दुःख दिएर छोडेका बाउसंग कुनै नाता राख्न हामी मन्जुर छैनौं । आमाको नामको नागरिकता गर्व साथ बोकेर काम गरेर २ पैसा कमाएर आमालाई सुख दिन चाहन्छौं । के हाम्रो राज्यले, संबिधानले, बिधेयक र ऐनले हामीलाई हामीले भनेको जस्तो नागरिकता दिन्छ ?

२. बाबुको बिभिन्न ठाउँमा ५ जनासम्म श्रीमती थिए । बाबु बितेर गए । जिउंदो हुंदा न आमाको न हाम्रो नागरिकता बनाइदिए । स्थानिय वडा भन्छन् आमाको विवाह दर्ता चाहिन्छ । दर्ता गर्न पनि नागरिकता चाहिन्छ । तर बिहे गरिसकेको आमाको माइत (मामाघर) बाट नागरिकता दिंदैन । हामी के गरौं कता जाऊ ? हाम्रो गल्ती के त भनेर जिल्ला प्रशासन कार्यालयमा जांदा तिम्रो होइन तिम्रो आमाले गल्ती गरिन् भनेर हामीलाई आफ्नो जन्म समेत धिक्कार बोध गराउछन् । के अहिले आउने विधेयकले हामीलाई समेट्न सक्छ ?

३. बाबु सैनिकमा जागिरे हुनुहुन्थ्यो । आमासँग एउटा नाम थर भनेर विवाह गर्नु भएछ । संगै बर्ष दिन जस्तै ब्यारेक बाहिर कोठा लिएर मन्दिरमा विवाह गरेर राख्नु भएछ । त्यस बिच म गर्भमा आएछु । बुवा सरुवा भएर जानु भयो अनी कहिले फर्केर आउनु भएन । आमा अशिक्षित हुनुहुन्छ । ब्यारेकमा गएर सोध खोज गर्न खोज्दा त्यस्तो नाम गरेको ब्यक्ती नै छैन भन्छन् । बुवाले भन्नु भएको नाम थर राखेरै आमाले मलाई हुर्काउनु बढाउनु भयो । अब धेरै दुःख र धोका सहेर हुर्काउनु भएको मेरी आमालाई म सुखको केही बर्ष दिन चाहन्छु । बैदेशिक रोजगारीमा जाने मन छ । नागरिकता बनाउन गए बाउ को थर राखेर हुर्केकोले बाउ देखाउन पर्यो अनी बाउ कै ठाउँंबाट नागरिकता झिक्न जाउ भन्छन् । अभागी हाम्रा लागि सरकारले एउटा नागरिकता दिएर बैदेशिक रोजगारीको बाटो खोलिदिने विधेयक बन्छ कि बन्दैन?

४. आमाको पहिलो श्रीमानले धोका दिए । दोस्रो विवाह भयो । बुवा म सानो छंदै बिते । आमा अहिले बृद्घा हुनुभयो र पनि सुत्केरीलाई स्याहार्ने काम गर्नु हुन्छ । आमालाई विवाह गर्दा दोस्रो परिवारले समेत स्विकार गरेनन् रे भन्नुहुन्छ । नेवार थरीका थिए रे । आमालाई सोध्दा पाटनतिर को हो कि भन्नुहुन्छ तर यकिन गर्न सक्नुहुन्न । आमा शिक्षित पनि हुनुहुन्न । उमेर शायद ६० पुग्नुभयो कि ? त्यो पनि उहाँंलाई राम्रोसंग थाहा छैन । आमाको माइतबाट नागरिकता निकालेको छ । मलाई एउटा संस्थाले ३ बर्ष को उमेर देखि हुर्काएको हो । अहिले राम्रोसंग ब्याचलर (स्नातक तह)मा पढदैछु । कलेजमा नागरिकता माग्छ । नागरिकता नभए पछि मेरो सर्टि्फिकेट समेत लिन मिल्दैन भन्छन् । हाल मेरो र मेरो आमाको पहिलो श्रीमानबाट जन्मेको दिदीहरुको समेत नागरिकता छैन । म के गरुं । के मेरो जिन्दगी यत्ती नै हो त ? के मैले यो देशको नागरिक भएर स्वाभिमानकोसाथ आफ्नो भविश्यको सपना देख्न पाउने बिधेयक, कानुन आउनेछ त?

५. मेरो आमा सानो छंदा बित्नुभयो । बुवा म १० कक्षामा हुंदा बित्नुभयो । तरुनी भईसकेको छोरी मान्छेलाई पाल्यो भने भोली पेट बोक्यो भने अब्जस आउंछ भनेर कुनै आफ्नो आफन्तले छानो दिन मानेन् । १७ बर्षको उमेरदेखि कोठा डेरा गरेर बसें । एउटा स्कूलमा शिक्षिकाको जागिर खाएं । आफु आइ. ए. मा भर्ना भएं । कोठा लिएर बसेको ठाउँंमा बाहिर जिल्लाबाट आएर कोठा लिनेहरु थुप्रै थिए । त्यस मध्ये एक जना बाहिर जिल्लाका विद्यार्थी थिए । ओखल्ढुङ्गा घर भन्दथे । उनीसंग म अलिक नजिक भएं । उनी पनि विद्यार्थी थिए र म पनि । विवाह भयो हाम्रो । केही समय पछी उनको बुवा आमा आए । मलाई अर्कै जातको भनेर स्विकार गरिएन । केही दिन पछि म आउछु बुवा आमालाई घर छाडेर भनेर गाउमा गए । केही दिन भनेका उनी ३ महिना पछि आए । म दुई जिउ कि थिएँ । उनले म दुई जिउको भएको थाहा पाएर बच्चा तुहाउने औषधी दिए । धन्न केही भएन । पछि थाहा भयो कि उनी ३ महिनामा त गाउँमा गएर विवाह गरेका रहेछन् । मेरो छोरी जन्मिइ । फेरी बच्चालाई बाउको नाम चाहिन्छ भनेरै उनको हरेक हिंसा सहेर बसें । अर्को ४ बर्षमा अर्को बच्चा जन्मियो । दुखम, सुखम बच्चाहरुलाई हुर्काएं । पढाएं । ठुली छोरी ११ बर्षको हुंदा मैसंग टांसिएर बस्थी । डराको जस्तो गर्थी । बाउ देख्योकी भाग्न खोज्थी । बाउले खुब पिट्थे । मैले रोक्न खोज्दा मलाई नै पिट्थे र छोडिदिने धम्की दिन्थे । छोरी १३ बर्षको हुंदासम्म पढाई पनि बिग्रिदै गयो । केही समय पछि चाल पाएँ कि उनले छोरी माथि नै यौंन दुब्र्यवहार गर्दा रहेछन् । तुरन्तै उनको र मेरो सम्बन्ध बिच्छेद भयो । छोरा छोरी ठुला भए । छोरी कुलतमा फसी । मैले बचाउन सकिनं । २ बर्ष भयो छोरी बितेको । त्यस्ता बाउको नामबाट नागरिकता लिन्न भन्छ छोरा । पुष्ट्याइ सहित् स्वघोषणा भन्ने शब्द देखि हामी अत्ती भयभित छौं । यस्तो रेकर्डमा राख्न चाहन्नौं । हामी मेहनती आमा छोरा छौं । हामी आफ्नो पूर्ण अधिकार सहित् यो देशको नागरिक हुन कस्तो मुल्य चुकाउनु पर्ने हो?

६. मामा पर्नेले कलिलो उमेरमा बलात्कार गर्यो । आमा नभएकी मैले आफ्नो पिडा कसैलाई सुनाउन सकिनं । गर्भ रहेको थाहा पाएर घरबाट निकालिएं । एउटा संस्थाले आश्रय दियो । त्यहीं काम पनि गरें । बच्चा जन्मियो । अब मेरी छोरीको नागरिकतामा बाउको नाममा मामा बाजेको नाम लेखेर कसरी हिंड्छे ? बाबु पत्तो नलागेको भनेर नागरिकता लिनु भन्दा आमा पत्तो लागेको भनेर लिने ब्यवस्था मिलाइदिनु पर्यो सरकार! हामी पनि बाँच्न पाउँ ।

७. सानैमा बा, आमा बिते । काका, काकीले पाले । काका काकीको छोरी मेरो दिदी पर्ने बिहे गरेको बर्ष दिन मै सम्बन्धबिच्छेद भयो । दिदी शहरमा बस्नु हुन्थ्यो । मेरो पनि बिहे गरिदिनु भयो । बिहे गरेर गएको ठाउँमा लोग्ने नभएको बेला ससुराले यौन दुराचार गरे । भागेर माइती आएं । काका, काकीले बिहे गरेर दान दिसक्यौं अब हाम्रो जिम्मावारी सक्कियो भनेर बास दिएनन् । शहरमा भको दिदीकोमा शरण लिन गएं । उहाँ यौनकर्मी हुनुभएछ । मलाई पनि त्यही काममा लगाइदिनु भयो । लोग्ने र ससुराको यौन दासी हुनु भन्दा त यही ठीक छ भन्ने ठानें । केही समय पछि एक जनासँग माया बस्यो । केही समय संगै बस्यौं । तर केही समय पछि उनी मलाई छोडेर गए । म गर्भवती भएको सम्म भन्न पाइनं । उन्को सम्झनामा बच्चा जन्माएं । शायद फर्किन्छ होला भनेर । तर कहिले फर्केनन् । अहिले छोरा ठुलो भईसक्यो । नागरिकता बनाउने केही आधार छैन । मेरो त अब उमेर ५० कटी सक्यो । तर मेरो छोरालाई मैले कसरी नागरिकता बनाइदिन सक्छु ? आफु अनपढ भएपनी उस्लाई पढाएँ लेखाएँ । अहिले उस्को राम्रो घरजम भएको छ । बुहारी स्कूलमा पढाउछिन् । २ वटा नाती छन् । छोरा बिजुलीको काम गर्छ । हामी पनि अट्न सक्ने कानुन आउन के गर्नु पर्छ ?

८. थोरै लेखापढी गर्न सक्छु । ५ कक्षा सम्म पढेको छु । मेरो सुन्दर परिवार थियो । श्रीमान खेती किसानी गर्नु हुन्थ्यो । खेत ठुलै थियो । २ भाई छोरा छन् । श्रीमानले असाध्यै माया गर्नु हुन्थ्यो । अचानक श्रीमान बिरामी पर्नु भयो । कत्ती औषधी गर्दा पनि निको भएन । बल्ल थाहा भयो वहाँलाई क्यान्सर भएको रहेछ । उपचार गर्न भएको सबै पैसा सम्पत्ती सक्कियो । खेतबारी सबै बेचियो । २ भाई छोरा पाल्नु अनी बिमार श्रीमानको खर्च उठाउने मेरो केही सम्पत्ती रहेन । श्रीमान बचाउने र २ भाई छोराहरुको पढाई र खर्च धान्ने सुरले मैले ऋण लिएर बैदेशिक रोजगारीको निम्ती पहल गरें । मेरो साउदीको भिसा लाग्यो । आफ्नो प्राण भन्दा प्यारो श्रीमान र छोराहरुलाई छोडेर म पैसा कमाउन साउदी आइपुगें । घरको काम गर्ने कामदारको रूपमा काम गर्न शुरु गरियो । साहुनीको र साहुजीको हराम र सलाम भन्ने अलग अलग बस्ने ठाउँ थियो । त्यसैले मलाई कुनै अफ्ठेरो महसुस भएन । तर काम चाँही एकदम धेरै थियो । बिहान उठेदेखी बस्न पाइन्न थियो । राती सुत्न जाने बेला कारीब १० र ११ बज्थ्यो । म सुत्न जाने बेला साहुनीले एक गिलास दुध दिन्थी । त्यो पिएर सुत्न जान्थें । सधैं सुत्न जाने बेला थाकेकोले बेस्सरी निन्द्रा लागेको सम्झिन्थें । अहिले बुझ्दा साहुनीले निदाउने औषधी हालेर दिने रहेछ । राती साहुजीले आएर सधैं बलात्कार गर्दोरहेछ । म बेहोसीको अवस्थामा केही थाहा पाउन्नथें । केही समय पछि मलाई वाकवाकी आउन थाल्यो । महिनावारि पनि रोकियो । सञ्चो भएन भनेर साहुनीलाई भनें । तिनलाई शंका लागेर मलाई घरबाट निकालिदियो । मसंग पैसा, पासपोर्ट केही थिएन । साउदीको सडकमा भौतारिंदै गर्दा नेपाली दाजुभाईले सहयोग गरेर म नेपाल फर्किएं । फर्किने बेलासम्ममा मेरो पेट ठुलो भईसकेको थियो । काठमाडौं त आइपुगें तर मेरो केही बांकी रहेन । एउटा संस्थाले शरण दियो । गाउँ जान सकिनं । श्रीमानसंग फोनमा कुरा हुन्थ्यो । उनी पनि रुन्थे म पनि । उनले धेरै बोलाए । म जान सकिनं । मैले भेट्न नपाउंदै उनको मृत्यु भयो । मैले छोरा जन्माएं । त्यो बच्चाको मुख पनि हेर्न सकिन । त्यहाँबाट सिधै गाउँ गएं । श्रीमानको लास त भेटिनं तर दुई छोराहरु सम्झेर फर्केको म त्यहाँ मेरो बस्ने बातावरण रहेन । गाउँ भरी मेरो हल्ला भईसकेकोले जेठाज्यु जेठानीहरु सबैले छिछि र दुरदुर गरे । म फेरी फर्केर त्यही संस्थामा आइपुगें । भर्खर जन्माएको छोरालाई पहिलो पल्ट हेरें । माया पलायो । अहिले त्यही छोरालाई हुर्काउंदैछु । यो छोरालाई छोड्न पनि सक्दिन जिन्दगी दिन पनि गाह्रो छ । के यो बच्चाले मेरो नाममा नागरिकता पाउछ ? के ऊसलाई यो संसारमा बाँच्न पाउने अधिकार छ ?

९. आमा सानैमा बित्नु भयो । बुवाले अर्को बिहे गर्नु भयो । म र बहिनी मामा घरमा हुर्कियौं । बुवा कान्छी आमा लिएर अन्तै बस्न जानुभयो । आमा बुवाको विवाह दर्ता पनि छैन । सानै देखि पाल्नु भएको मामा माइजुले सनाखत गरेर नागरिकता पाइंदैन रे । अब हाम्रो पढाई पनि रोएिकोे छ । हामी दुई दाई बहिनीको के गल्ती छ र ? हामी कुन देश को नागरिक हौं र?

१०. हामी दुई दाजुभाई छौं । बुवा हामी सानो छंदा बित्नुभयो । आमा बुवाको प्रेम विवाह भएका रहेछ । बुवा खोटाङको रे भन्ने मात्रै थाहा छ । आमाले पछि अर्को विवाह गर्नुभयो । आमाको भनाइ अनुसार वहाँलाई बुवाको घर परिवारबारे केही थाहा छैन । वहाँको भनाइ अनुसार बुवा भलाद्मी हुनुहुन्थ्यो रे । बुवाले कहिले नराम्रो गर्नु भएन रे आमालाई । त्यसैले माया प्रेम हुँदाहुँदै छोडेर जानुभएकोले आमाले बुवाकै थर राखेर हुर्काउनु भयो । आमाले पछि आफ्नै थरका ब्यक्तीसंग विवाह गर्नु भयो । उतिखेर जब नागरिकता लिने उमेर भयो तब आमाले बुवाको आफ्नो आफन्त खोज्ने काम गर्नु भयो । तर सक्नु भएन । त्यस पछि देशमा सरकार नभएको अवस्था सृजना भयो । स्थानिय सरकार नभएको अवस्थामा हामीलाई नागरिकताको सिफारिस दिईएन । त्यो बिचमा हामी सर्वोच्च अदालतमा समेत रिट लिएर पुग्यौं । ५ बर्ष लाग्यो फैसला पर्खिन । अदालतले छानबिन गरेर सोही अनुसार गर्नु भन्ने फैसला गरेको छ । त्यसपछी तत्कालै स्थानिय निर्वाचन पनि भयो । स्थानिय वडाले सर्जि्मिन मुचुल्का गरेर आमासंगको सम्बन्ध प्रमाण बनाइदियो र सोही बमोजिम सिफारिस पनि गरिदियो । तर जिल्ला प्रशासन कार्यालयले पुलिस सर्जि्मिन समेत नगरेर त्यत्तिकै अड्काइ राखेको अवस्था हो । मेरो बुवाको नाम, थर थाहा छ, तर ठाउँ, ठेगाना थाहा छैन । म र मेरो भाईले बाबु पत्तो नलागेको अनुसार नागरिकता लिन मिल्छ कि मिल्दैन?

११. कुरा नेपालगन्ज बाँके जिल्लाको हो ।बाबु बितिसकेको, आमा र बाबुको बिबाह दर्ता नभएको तर आमाको नागरिकता वंशको आधारमा बनेको छ । बाबुको मृत्यु दर्ता बनाईयो आमा र सन्तान को नाता प्रमाणित नि गराईयो । तर पनि सन्तानलाई आमाको नामबाट नागरिकता दिन मानेनन् कारण बाबु र आमाको विवाह दर्ता नभएकोले नाता प्रमाणित हुन सकेन ।

आमाको नामबाट नागरिकता पाउनलाई मुद्धा हालेर जितेर नागरिकता पाएको समाचारहरू पढी राखेकोछु । नागरिकता पाउनलाई कुनै बेकशुर ठहरिए जसरी मुद्धा जितेपछि चाहिँ राज्यले नागरिकता दिने नत्र नदिने कस्तो प्राबधान ?

काठमाण्डौमा आमाको नामबाट नागरिकता दिने भनेर सर्हाेच्चले सरकारलाई आदेश दियो अब बाँके रौतहट, हुम्ला जुम्लातिर यस्तो समस्या खेपिरहेकोहरूले कहिले आमाको नामबाट नेपाली नागरिकता पाउने ??

१२. आमा नेपाली तर मेरो बुवा बिदेशी (भारतिय)। म यही जन्मीए हुर्कीएं र पढाई पनि यही सकियो । म र मेरो आमा यही नेपाल मै बसेर केही गर्न चाहन्छु र मेरो बाउपट्टि कुनै सरोकार छैन । मैले केही बर्ष देखी काम पनि गर्दैछु । दरबार मार्गको एउटा होटेलमा काम गर्छु । सबैको तलब सिधै महिना को पहिलो दिन नै अकाउन्ट मा हालिदिन्छ तर मेरो नागरिकता छैन र बैंक अकाउन्ट पनि नभएकोले जहिले पछि पर्छु!!!
सँगसंगै होटेल मा काम गर्ने भएकोले कहिले डे डिउटी, कहिले नाइट डिउटी हुने गर्छ । सबै जना आफ्नै सवारी मा टाईम मा आउने गर्छन् तर मेरो लाइसेन्स पनि नभएकोले अरुको भरमा बस्नु परेको छ र धेरै समस्या पनि निम्तिने गर्छ!!! अलीअली कमायो, पैसा पनि साथीको खाता मा हाल्नु परेको छ । के अब आउने बिधेयेकले यो सबै समस्या को हल गर्छ ?

१३. म २१ बर्ष को भएं । घरमा म र मेरो आमा मात्रै हुनुहुन्छ । बुवा सानै बेला जापान जानु भएको फर्केर आउनु नै भएन रे । मामुलाई बाबाको बारेमा सोध्दा मामु जहिले भाबुक हुनुहुन्छ र रुदै भन्नु हुन्छ “तेरो बाउको बारेमा मलाई केही थाहा छैन” । म मेरो आमालाई केहि गरेर खुसी दिन चाहन्छु तर पाइला पिच्छे नागरिकता नागरिकता नागरिकता मात्रै माग्छन् । म बर्षौं देखि आमाको नामबाट नागरिकता बनाउन चाहन्छु । के अब त मलाई हाम्रो सरकारले आमाको नामबाट नागरिकता दिएर मेरो र मेरो मामुको आसुँ पुछी दिन मद्दत् गर्छ कि !!!

१४. म काठमाडौंको न्युरोडमा बस्छु । बुवा बिदेशी (भारतिय) र बितिसक्नु भयो । मैले र मेरो आमाले अहिलेसम्म ईन्डियामा पाइला पनि टेकेको छैन । म आमाको नामबाट नागरिकता बनाउन सि.डि.ओ। अफिस जाँदा सि.डि.ओ. ले अहिले मिल्दैन केही बेर पर्ख भन्छ । पर्खाइको सीमा ५ बर्ष नाघिसक्यो । मैले राम्रोसँग काम गर्न पनि पाइरहेको छैन । अहिले आमाले मात्रै काम गर्नु हुन्छ । म पनि छिट्टै आफ्नो नागरिकता बनाएर आमालाई सहयोग गर्न चाहन्छु । के यो मेरो सपना मेरो सरकारले मलाई नागरिकता दिलाएर सहयोग गर्छ ??

प्रकाशित: ९ फागुन २०७५ १८:२८ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी