इन्जिनियर नहुँदा भूकम्पपीडितहरु घर बनाउनबाट वञ्चित

इन्जिनियर नहुँदा भूकम्पपीडितहरु घर बनाउनबाट वञ्चित


फलेवास, ३ कात्तिक । आवश्यक प्राविधिक जनशक्ति नहुँदा पर्वतमा भूकम्पपीडितले घर निर्माण कार्य शुरु गर्न सकेको छैन् । 

पर्वतमा भूकम्पबाट पाँच हजार २६९ परिवार पूर्ण प्रभावित भएका थिए । तीमध्ये हालसम्म चार हजार ७० जनाले पहिलो किस्ताको रकम भुक्तानी लिइसकेका छन् भने चार हजार ३५० जनाले सम्झौता गरिसकेका छन् । बाँकी ९९० लाभग्राहीको विभिन्न कारणले सम्झौता हुन नसकेको बताइएको छ । 

पुनःनिर्माणका लागि भन्दै शहरी विकास भवन निर्माण डिभिजन कार्यालयबाट एकजना इन्जिनियर खटिएको भए पनि सबै क्षेत्रमा पुग्न नसक्दा पीडितले घर निर्माण कार्य शुरु गर्न नसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिए । 

जिल्लामा अहिलेसम्म रु २० करोड ३५ लाख वितरण भइसकेको छ,उनले भने– ‘अनुदान सम्झौतापछि पहिलो किस्ता पाए पनि दोस्रो किस्ता लिनका लागि घर निर्माण शुरु गरेको र जग बनाइसकेको प्रमाणित प्राविधिकले गर्नुपर्ने प्रावधान छ तर प्राविधिक जनशक्तिको अभावमा त्यो कार्य हुन सकिराखेको छैन् ।’ 

कम्तीमा एक स्थानीय तहमा एकजना इन्जिनियर खटाउन सकेमा पुनःनिर्माणले गति लिन सक्छ, शर्माले भने– ‘अहिले जिल्लामा एउटा मात्र इन्जिनियर छ, उसले सबै लाभग्राहीलाई हेर्न भ्याउँदैन ।’ पटक–पटक इन्जिनियर पठाउनका लागि भूकम्प पुनःनिर्माण प्राधिकरणमा ताकेता गरे पनि सुनुवाइ नभएको उनको गुणासो छ । 

पर्वतका सात वटै स्थानीय तहमा एक–एक इन्जिनियर छन् । तिनीहरुलाई नै तालीम दिएर खटाउन सकेमा पनि भूकम्पपछिको पुनःनिर्माणले गति लिन सकिन्थ्यो । जिल्ला समन्वय समिति पर्वतले सम्झौता भइसकेका लाभग्राहीलाई विभिन्न बैंकमार्फत भुक्तानी दिँदै आएको छ । पूर्णरुपमा भूकम्प प्रभावित बनेकामध्ये केहीले पहिले नै आवास बनाइसकेका छन् भने केही अझै पनि झुप्रोमा बस्न बाध्य भएका छन् । 

भूकम्प पुनःनिर्माणमा स्थानीय तहले पनि जिम्मेवार नबनेका कारण समस्या देखिएको छ । सरकारले भूकम्प प्रभावितको रकम स्थानीय तहमै पठाउने बताए पनि व्यवस्थापन गर्न कठिन हुने भन्दै पर्वतमा जिल्ला समन्वय समितिमार्फत नै सो रकम वितरण हुँदै आएको छ । सम्झौता गर्न बाँकी रहेकाहरुलाई पनि ताकेता गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा बैंकको पहुँच पुग्न नसक्दा पनि रकम वितरण र सम्झौतामा समस्या भएको हो । 

एक घर एक धारा जडान 

यसैगरी एक घर एक धारा विस्तार अभियानअन्तर्गत पर्वतमा हालसम्म १० हजार घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । पाँच गाउँपालिका र दुई नगरपालिका रहेको यो जिल्लामा झण्डै एक दशकभन्दा अघिदेखि शुरु भएको एक घर एक धारा विस्तार अभियानअन्तर्गत १० हजार घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । 

जिल्लामा झण्डै ३४ हजार घरधुरी रहेका छन् । तीमध्ये चालू आवसम्ममा १४ हजार घरधुरीले एक घर एक धाराअन्तर्गत खानेपानीको उपभोग गर्न पाउने भएका छन् । अहिलेसम्म १० हजार घरधुरीमा धारा जडान भइसकेको छ भने चार हजार घरधुरीमा केही महिनाभित्रै धारा जडान गर्ने गरी कार्य भइरहेको छ । 

बाँकी २० हजार घरधुरीले अहिले पनि सामुदायिक धारा, कुवा, इनार वा खोलाको पानी पिउन बाध्य छन् । सबैभन्दा बढी कुश्मा नगरपालिकामा झण्डै चार हजार धरधुरीमा धारा जडान गरिएको छ भने जलजला गाउँपालिकाको वारिवेनी र माझफाँट, फलेवास नगरपालिकाको खानीगाउँ, देवीस्थान, पैंयु गाउँपालिकाको हुवास क्षेत्र, विहादी गाउँपालिकाको शालिग्राम र महाशिला गाउँपालिकाको होश्राङ्दीमा एक घर एक धारा विस्तार गरिएको जिल्ला खानेपानी तथा सरसफाइ समितिको कार्यालयले जनाएको छ । 

जिल्ला खानेपानी कार्यालयका तथ्यांकअनुसार पर्वतमा हालसम्म ९२ दशमलव २८ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भए पनि अझै अधिकांश ठाउँका बासिन्दा स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका छन् । जिल्लामा अहिलेसम्म ९५० वटा साना ठूला खानेपानी योजना सम्पन्न भइसकेका छन् । तीमध्ये अहिले न्यून संख्यामा मात्रै सञ्चालित रहेको पाइएको छ भने चालू आवमा ५७ वटा योजना क्रमागतरुपमा निर्माणाधीन अवस्थामा रहेका छन् । 

त्यस्तै भूकम्प प्रभावित आठ र सहलगानी योजना गरी ७० वटा योजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रकाश डोटेलले जानकारी दिए । मुहान र खोलानाला आसपासका क्षेत्रमा भन्दा उच्च पहाडी क्षेत्रमा खानेपानीको बढी समस्या रहेको छ । नजिकमा स्रोत नहुने भएकाले त्यस्ता बस्तीकालागि अझै पनि खानेपानीको पहुँच पु¥याउन कठिन भएको हो । पछिल्लो समय महाशिला गाउँपालिकाले साविकको फलामखानी गाविसमा लिफ्ट खानेपानी योजना अघि बढाएको छ । 

त्यस्तै कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा पनि लिफ्ट खानेपानी सञ्चालनमा रहेको छ । सरकारले प्रायःजसो योजना क्रमागतरुपमा राखिदिँदा समयमै सम्पन्न हुन नसकेको कार्यालय प्रमुख डोटेलको भनाइ छ । नागरिकलाई जतिसक्दो छिटो स्वच्छ खानेपानीको पहुँच पु¥याउनका लागि कार्यालय निरन्तर लागेको र चालू योजनालाई निर्धारित समयमै सम्पन्न गर्नका लागि सम्बन्धित सबै पक्षलाई ताकेता गरिएको समेत उहाँले बताउनुभयो । रासस

Logo