निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण

निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण


विराटनगर, २७ असोज । निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ । 

उक्त प्रदेशका १४ जिल्लाका २८ पत्रकारको सहभागिता रहेको सो प्रशिक्षणमा निर्वाचनसम्बन्धी समाचार लेखन, विश्वसनीयता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउनेलगायतका विषयमा जानकारी दिइएको थियो । प्रशिक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पोखरेलले जनताले मतदानको माध्यमबाट अन्तरमनकोे अभिमत प्रकट गर्ने भएकाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा गराउनुपर्नेमा जोड दिए । 

क्षेत्रीय कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या अत्यधिक रहेकाले अब हुने निर्वाचनमा बदर मत हुन नदिनका लागि मतदाता शिक्षा तहगतरूपमा शुरु गरिने जानकारी गराए । निर्वाचन आयोगका उपसचिव चन्द्रबहादुर शिवाकोटीले निर्वाचनका लागि आवश्यक कानून र निर्देशिका तयार भइसकेको उल्लेख गर्दै समानुपातिकका लागि मतपत्र छपाइको काम शुरु भइसकेको बताए । रासस

Logo